images

बुधवार, बैशाख १२ गते २०८१

आज बिश्वकर्मा पुजा, को हुन् विश्वकर्मा बाबा ? 

आज बिश्वकर्मा पुजा, को हुन् विश्वकर्मा बाबा ? 

images
images
images
शनिवार, आश्विन १ २०७९
शनिवार, आश्विन १ २०७९
  • आज बिश्वकर्मा पुजा, को हुन् विश्वकर्मा  बाबा ? 
    विश्वलाई कर्म गर्न सिकाउने आदि पुरूष नै विश्वकर्मा हुन् ।वास्तुकला, शिल्पकलाका प्रणेता हुन् विश्वकर्मा । शास्त्रमा सृष्टिकर्ता ब्रह्माजीका सुपुत्रका रूपमा व्याख्या गरिएको छ विश्वकर्माजीलाई । जब ब्रह्माजीले संसारको रचना गर्नुभयो, संसार त बन्यो प्राणी पनि भए , मान्छे पनि भए । अब समस्या कहाँनेर भयो भने मानिसले कर्म त गर्नुपर्यो ।
     
    खान र लाउन गर्नुपर्ने संघर्षका लागि ब्रह्माजीले छोरालाई जिम्मा दिनु भो र विश्वकर्माजीले विभिन्न औजार ,साधन हातहतियार निर्माण गर्नुभो र मानिसलाई जीवनयापनका लागि बाटो देखाउनु भो । यसरी विश्वभरका मानिसलाई कर्मशील गराउनु भएको हुँदा उहाँको नाम विश्वकर्मा रहन गएको हो भन्ने शास्त्रीय मान्यता छ ।
     
    अर्को एउटा प्रसङ्ग पनि छ । कुनै समयमा धर्मको यति धेरै प्रचार भयो कि सबै मानिसहरू भगवानप्रति लीन भए । सबै भगवानको पाठपूजा , भजनकीर्तनतर्फ लागे । भगवानको पूजा अर्चना गर्ने, उपासना गर्ने, वनजंगलमा गइ फलफूल कन्दमुल खाने गर्न थाले । जताततै शास्त्रार्थका मात्र कुरा हुन थाले । यसो हुँदा एकातिर स्वर्गको इन्द्रासन डगमगाउन थाल्ने भयो भने अर्कोतिर जताततै खाने कुराको हाहाकार हुन थाल्ने भयो । यो विपत्ति आउने देखेर भगवान श्रीविष्णु विश्वकर्मा अवतार धारण गरि विभिन्न साधन तथा औजार, कलकारखाना खोली मानिसलाई कर्मशील बनाउनु भएको र त्यसदिनदेखि भगवान श्रीविष्णुले जसले वास्तुकला तथा शिल्पकलाको काम गर्दछ म तिनीहरूकै साधनमा अवतरित हुनेछु भन्नुभएको हुँदा आज विभिन्न साधनहरूलाई भगवान विष्णुको साक्षात् रूप ठानी पूजा गर्ने परम्पराको विकास भएको मानिन्छ ।
     
    आफूलाई वैकुण्ठ भन्दा पनि र पाठपारायण गर्ने जोगी पुजारी बस्ने मन्दिरभन्दा भन्दा एउटा कामदार आफ्नो प्यारो भक्त हुने कुरा गर्दै वैकुण्ठ र मन्दिरमा बस्नुभन्दा एउटा कर्मशील भक्तको हृदयमा आफू बस्न रुचाउने कुरा नारदलाई भनेको प्रसङ्ग महत्त्वपूर्ण छ - नाहं तिष्ठामि वैकुण्ठे योगिनां हृदय $ पि च ।
     
    यस प्रसङ्गबाट भगवान पूजाको भोको होइन परिश्रमको भोको हुनुहुन्छ, जसले खन्ने खोस्रने गर्छ,हलो कोदालो चलाउँछ त्यसले आफूले मात्रै नभएर अर्काको पनि पेट भर्ने काम गर्दछ । जसले हातहतियार निर्माण गर्छ, गाडी घोडा बनाउँछ ऊ स्वयं यस धर्तीको ब्रह्माजी हो अनि विश्वकर्मा पनि हो । घर, पुल मठमन्दिर, बाटोघाटो बनाउने शिल्पकार सबै विश्वकर्मा हुन् । फलाम, सुन लगायत धातु र सबै किसिमका उद्योग -कलकारखाना चलाउने मानिस ब्रह्माजी हुन् अथवा ब्रह्माजीका सुपुत्र विश्वकर्मा हुन्। नयाँ रचना गर्नेलाई पुराणमा ब्रह्माजी भनिएको छ । भगवान श्रीकृष्णले श्रीमद्भगवद्गीतामा अर्जुनलाई आफू विश्वकर्मा हुँ भनेर चिनाउनु भएको छ । हे अर्जुन म कर्ममा विश्वास राख्दछु । जीवन कर्मशील हुनुपर्छ भन्दै जसले कर्म गर्दछ, उसैले फल प्राप्त गर्ने विषय बताउनु भएको छ ।
     
    शास्त्र अनुसार श्रीसूर्य भगवान कन्या राशिमा प्रवेश गर्ने दिनमा भगवान विश्वकर्माको जन्म भएको हो । त्यसैले आज विश्वकर्मा जयन्ती भनेर मनाइन्छ। यो विक्रमादित्य समय अनुसार सधैं आश्विन एक गते पर्दछ र पश्चिमा समय अनुसार हरेक वर्षको सेप्टेम्बर १७ तारिख पर्दछ । पौराणिक मान्यता अनुसार स्वर्गका राजा इन्द्रले प्रयोग गर्ने वज्रवाण,द्वारकापुरी दरबार, मयसभा, इन्द्रप्रस्थ दरबार, रावणको सुनैसुनको लंका दरबार सबै विश्वकर्माले निर्माण गरेका थिए । जब हनुमानले रावणको सुनैसुनको विशाल लंका दरबार जलाइदिए तब रावणले विश्वकर्मालाई आमन्त्रण गरि तुरुन्तै त्यो भन्दा अझै भव्य, आकर्षक र सुन्दर दरबार बनाउन लगाएका थिए ।
     
    हिजोआज निर्माण कार्य गर्न सिपालु दक्ष व्यक्तिलाई इन्जिनियर भनिन्छ तिनै इन्जिनियरहरूका कर्म पिता हुन् विश्वकर्मा । सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, आर्किटेक्चर इन्जिनियर ,डिजाइन इन्जिनियर यस्तै यस्तै जति पनि इन्जिनियर अर्थात् निर्माण कार्यका पक्षहरू छन् ती सबैका समष्टिरूप हुन् विश्वकर्मा । रचनाका प्रतीक हुन् विश्वकर्मा । कर्ममा विश्वास गरि अहोरात्र खटिने श्रमिकहरूका पर्याय हुन् विश्वकर्मा ।
     
    असोज १ गते विश्वकर्मा मन्दिरमा जाने पूजा अर्चना गर्ने प्रचलन छ साथै घरमा भएका धातुबाट बनेका सामग्रीहरूलाई नै साक्षात् भगवान सम्झेर पूजा गर्ने परम्परा पनि छ । सवारी साधन हुनेहरूले गाडी पूजा गर्ने ,धजा बाँध्ने गर्दछन् । पितृ पक्ष परे पनि आज राता फुल अक्षता भगवानलाई चढाउने र आफूले लगाउने गरिन्छ । विश्वकर्मा दिवस कुनै तिथि नक्षत्र हेरेर चान्द्रमानका हिसाबले मनाइने चाड नभएर यो त यो त सूर्यमानका हिसाबले मनाइन्छ ।
     
    सूर्य कन्या राशिमा प्रवेश गर्ने दिन प्रत्येक असोज १ गते पर्दछ ,त्यसैले १६ श्राद्धमा पर्यो भनेर पूजा गर्ने कि नगर्ने भनेर द्विविधा पर्नु पर्दैन।लड्डु,नरिवल ,हलुवा ,फलफूल आजका विशेष प्रसाद हुन्। विभिन्न रंगीचंगी ध्वजापताका फहराउने गरेको पनि देखिन्छ । विश्वकर्माको चित्र वा फोटो राखेर शोडषोपचार विधिले पूजा गर्ने गरिन्छ । आश्विन १ गते विश्वकर्माको मूर्ति स्थापना गरि वैदिक विधि अनुरूप पूजा गरि अर्को दिन बाजागाजा सहित नजिकैको नदीमा लगेर सेलाउने अर्थात् विसर्जन गर्ने परम्परा पनि छ ।
     
    आज नयाँ नयाँ साधनहरू किन्ने र पूजा गर्ने हो भने विश्वकर्मा बाबा खुसी हुनुहुन्छ भन्ने जनविश्वास छ । आजलाई हतियार खरिद गर्ने दिनको रूपमा पनि चिनिन्छ । नयाँ मेसिन किन्दा, गाडी किन्दा फाइदा हुन्छ भन्ने विश्वास गरिन्छ । दुर्घटना हुनबाट बचाउने भगवानका रूपमा पनि विश्वकर्मालाई चिनिन्छ ।
    पहिला पहिला मेशिनको काम गर्ने, सुन, फलाम लगायत धातुको काम गर्ने, निर्माणका काम गर्ने, औजार चलाउनेलाई तल्लो जाति भनेर हेला गरेको पनि देखिन्थ्यो तर वास्तवमा यो गलत कार्य हो । शास्त्रमा कहीँ पनि जातीय विभेद गरेको पाइँदैन ।
     
    वास्तु तथा शिल्पकारहरूलाई त झन् सम्मान हुनुपर्ने । भगवान् श्रीविष्णुकै अवतार मानिन्छ विश्वकर्मालाई । भगवान श्रीकृष्णले आफू स्वयं विश्वकर्मा भएको कुरा अर्जुनलाई बताउनु भएको थियो । मानिस मानिसका बिचमा गरिएको विभेदबाट भगवान कदापि खुसी हुनुहुन्न । उनै कालीगढले मन्दिर बनाउने, मूर्ति बनाउने त्यस्ता पवित्र हात हुनेलाई नै अपमान गर्ने हो भने सभ्य समाजको निर्माण कसरी हुनसक्ला अनि वसुधैव कुटुम्बकम् भन्ने मान्यतालाई हामी कसरी प्रतिस्थापित गर्न सकिएला ?
     
    विश्वकर्मा बाबाले हामी सबैको रक्षा गरून्, सबैलाई कर्मशील बनाऊन्, दुर्घटना हुनबाट बचाऊन्, मानिस मानिस बिचको विभेदको अन्त्य गर्ने सत्प्रेरणा प्रदान गरून्, पेसा व्यवसाय- उद्योग कलकारखाना फस्टाउँदै लैजाऊन् । हरि ॐ।
    जय विश्वकर्मा बाबा ।
    २०७९ असोज १
     
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij