शुक्रवार , भाद्र ३१, २०७९
भैरहवा, ३१ भदौ ।
दीप ज्योती महिला सचेतना समूह सिद्धार्थनगर–८ भैरहवा, रुपन्देहीको १७ औं वार्षिक उत्सव तथा आठौं साधारणसभा शुक्रबार अन्नपूर्णटोलस्थित दुर्गा मन्दिर हलमा सम्पन्न भएको छ ।
कार्यक्रममा समूहकी अध्यक्ष शान्ति अधिकारीले संस्थाको वार्षिक कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस्तै कोषाध्यक्ष मीना थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रको प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले उद्घाटन गर्दै महिलाहरु हरेक ठाउँमा इमान्दार भएर काम गर्ने भएकाले संस्था राम्रो चल्ने बताए ।
सो अवसरमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष राजनजंग राणा, सिद्धार्थनगरका निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारी, भैरहवा मर्निङ वाक ग्रुप (बीएमजी) का अध्यक्ष तथा समाजसेवी ओमकार गौचन, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली लगायतले बोलेका थिए ।
संस्थाकी उपाध्यक्ष विष्णु जिसीको स्वागत तथा सचिव गीता भण्डारी भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थामा मानार्थ सदस्य, सल्लाहकार सदस्य र आजीवन सदस्य गरी १५० जना सदस्य रहेका छन । मानार्थ सदस्यताका लागि १ लाख बढी शुल्क लाग्ने संस्थाकी अध्यक्ष शान्ति अधिकारीले बताइन् ।
संस्थाले शिक्षा, स्वास्थ्य, वृक्षारोपण, चौपारी, पार्क लगायत विभिन्न सामाजिक कार्यहरुमा सहयोग र सहभागिता जनाउँदै आएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij