
शुक्रवार , भाद्र ३१, २०७९
भैरहवा, ३१ भदौ ।
सुगम जिल्लाको दुर्गम क्षेत्रको रूपमा रहेको रुपन्देहीको मर्चवारमा १० करोडको लागतमा शैक्षिक भवन बन्न लागेको छ ।
२०३० सालमा स्थापित कोटहीमाई ५ मझगावामा रहेको विद्यालयको संरचनाहरू जीर्ण हुँदै गएपछि लुम्बिनी प्रदेश सरकारको लगानीमा लुम्बिनी प्रदेश योजना आयोग मार्फत बहुबर्षिय योजनाबाट शैक्षिक भवन बन्न लागेको हो ।
भौतिक संरचना र पूर्वाधारमा धेरै कमी रहेको पाइएपछि लुम्बिनी प्रदेश सरकारको सक्रियतामा बहुबर्षिय योजनासहित शुक्रबार लुम्बिनी प्रदेश सरकारको शिक्षा तथा खेलकुद मन्त्री बसिउद्दीन खानले भवनको शिलान्यास गरेका छन् ।
विद्यालयको हाता भित्र रहेको जग्गामा सुविधा सम्पन्न संरचना निर्माण गर्ने योजना प्रदेश सरकारले लिएको छ, लुम्बिनी प्रदेश योजना आयोग मार्फत ३ वर्षीय योजना सहित मर्चवार आदर्श माविको शैक्षिक भवन निर्माणका लागि ९ करोड ९९ लाख ९० हजारको लागत अनुमान सहित निर्माण कार्य अघि बढेको मन्त्री खानले भने । भवनको शिलान्यास गर्दै मन्त्री खानले विद्यार्थीको संख्या धेरै र सीमित स्रोत साधन शिक्षा दिनमा कठिनाइ भएकोले बहुबर्षिय योजनामा विद्यालयमा बृहत भवन बनाउन लागेको उनले भने ।
सो अवसरमा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले मर्चवारको भविष्य उज्ज्वल रहेकोले यहाँको शैक्षिक गुणस्तरलाई अन्य विद्यालयसँग तुलना गर्दै वृद्धि गर्नु पर्ने जरुरी रहेको बताए । प्रदेश सरकारको दोस्रो ठूलो विद्यालयको योजना मर्चवारमै रहेको बताउँदै उपाध्यक्ष क्षेत्रीले शिक्षामा गुणस्तरका लागि सिस्टम नै परिवर्तन गर्नु पर्ने बताए ।
योजना आयोगले पहिलो वर्ष १ करोड ५० लाख, दोस्रो वर्ष ५ करोड र अधिकतम वर्ष ३ करोड ४९ लाख ९० हजार लागत अनुमान सहित निर्माण कामको थालनी गरेको छ । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij