२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

स्कलर्समा अभिभावक अन्तरक्रिया

शुक्रवार , भाद्र ३१, २०७९

बुटवल, ३१ भदौ ।
स्कलर्स होम इङलिस बोर्डिङ स्कूलले अभिभावक अन्तरक्रिया सम्पन्न गरेको छ । शनिबार बुटवलमा एक कार्यक्रमकाबीच कार्यक्रमको अभिभावक संघ रुपन्देही जिल्लाका अध्यक्ष लोकनाथ ज्ञवालीले बालबालिकाहरुको पहिलो पाठशाला घर र पहिलो शिक्षक आमा भएको दावी गर्दै जग बलियो बनाउन आमाको भूमिका धेरै रहने बताए । बच्चाहरुको मनोभावना बुझेर अघि बढ्नुपर्ने जोड दिदै उनले शहरी व्यस्तताका कारण पनि अभिभावक र बालबालिकाहरुमा दुरी बढ्ने बताए । 

्कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम बन्जाडेले असल विद्यार्थी उत्पादन गर्न अभिभावकको भूमिकालाई ध्यान दिएर विद्यालयमा वर्षभरी नै रचनात्मक कार्यक्रमहरु राखिदै आएको बताए । विद्यार्थीहरुलाई दैनिक डायरी व्यवस्थापन गरी शैक्षिक, व्यवहारिक ज्ञान सिकाइमा मद्दत मिलेको उनले बताए । विद्यालयमा शिक्षकसँगै घरमा अभिभावकहरुबाट समय व्यवस्थापन गर्न सके मात्र बालबालिकाको क्षमता विकास हुने उनले दाबी गरे । 

कस्मिक वर्ड नेपालका सञ्चालक तथा जीवन खोजका प्रशिक्षक, लेखक डिआर पराजुली (म्यागनेट) ले अभिभावक सचेतना कार्यक्रमलाई सहजीकरण गर्दै हरेक अभिभावकमा नेतृत्व र वक्तृत्वकला विकास गर्न जरुरी रहेको बताए । सफल अभिभावक बन्न सरल उपायलाई अपनाउनुपर्नेमा जोड दिदै उनले हाम्रो धर्म संस्कृतिमा यसको धेरै वर्णन रहेको दावी गरे । आधुनिक प्रविधिको युगमा बालबालिकाहरुलाई टेलिभिजन, मोबाइल जस्ता ग्याजेटको प्रयोग बन्द गर्ने भन्दा पनि यसप्रतिको मोह घटाउनुपर्ने उनले सुझाव दिए । उनले बालबालिकाहरुको जिद्दीपनको कारण खोजेर सिकाउनुपर्ने सुझाव दिदै व्यवहार परिवर्तन गर्न सकारात्मक हुन जरुरी रहने बताए । सोच र व्यवहार फरक हुन सक्ने तर्क गर्दै सोच परिवर्तन नभइ व्यवहार पनि परिवर्तन नहुने उनले दावी गरे । 

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का वडा सदस्य भरत पुरी, विद्यालयका उपप्राचार्य टीकाराम गौतम, प्रशासकीय अधिकृत लोकप्रसाद भण्डारीले मानिसमा सिकाइको चाहना सधैभरी हुनुपर्ने बताए । सुधारको अभियान आफैबाट चलाउनुपर्ने सुझाव दिनुपर्ने उनीहरुले बताए । कार्यक्रममा करीब ४ सय अभिभावकहरु सहभागी भएका थिए ।