
शुक्रवार , भाद्र ३१, २०७९
भैरहवा, ३१ भदौ ।
आस्था महिला उद्यमी संघ सिद्धार्थनगर–९ उदयपुर, रुपन्देहीको आयोजनामा लैंगिक हिंसाको अवस्था, चुनौती र रोकथामसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर–९ उदयपुरस्थित उद्योग व्यापार संगठन, रुपन्देहीको सभाहलमा भएको कार्यक्रमको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख अधिकारीले महिला प्रत्येक क्षेत्रमा एकजुट हुनुपर्ने बताइन् । उनले सोचमा परिवर्तन आफैबाट सुरु गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘सोच परिवर्तन आफैबाट सुरु गरौं, कामको लागि काम भन्दा परिणाममुखी काम गर्नुपर्छ । ’उनले महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको बताइन् ।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले आस्था महिला उद्यमी संघले आगामी दिनमा पनि रचनात्मक कार्यक्रमहरुलाई अगाडि बढाउँदै जानुपर्ने बताए ।
आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपानेको अध्यक्षता, कार्यक्रम संयोजक उषा बेल्बासेको स्वागत, उपाध्यक्ष माया खनालको धन्यवाद ज्ञापन तथा सचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रशिक्षण कार्यक्रमको उद्योग व्यापार संगठन रुपन्देहीकी सल्लाहकार तथा नमुना एकीकृत विकास परिषद् रुपन्देहीकी कार्यकारी निर्देशक ज्ञानु पौड्यालले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा ४० जना महिलाको सहभागिता रहेको आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपानेले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij