शुक्रवार , भाद्र ३१, २०७९
काठमाडौं, ३१ भदौ ।
निर्वाचन आयोगले संसदीय निर्वाचन अघि जग्गा नबाँड्न निर्देशन दिएको छ । राष्ट्रिय भूमि आयोगले चुनावको मुखमा भूमिहीनलाई लालपुर्जा वितरण गर्न थालेपछि आयोगले जग्गा बाँड्न रोक लगाएको हो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी कुनै काम नगर्न आयोगले राष्ट्रिय भूमि आयोगलाई भनेको छ ।
‘आसन्न निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सबै काम तत्काल स्थगित गर्न’ आयोगले विज्ञप्तिमार्फत् जनाएको छ । यसबारे दुई दिनभित्र यथार्थ जानकारी दिन पनि भनिएको छ ।
त्यस्तै आयोगले सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्च बेहोर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमणबाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी गरिने वैदेशिक भ्रमण नगर्न नगराउन पनि भनेको छ ।
संसदीय चुनाव मंसिर ४ गते हुँदैछ । समानुपातिकको बन्दसूची असोज २ र ३ गते पेश गर्ने कार्यसूची छ । न्युज कारखाना
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij