
बिहिवार , भाद्र ३०, २०७९
बुटवल, ३० भदौ ।
लायन्स क्लब अफ बुटवल स्टार्सको सातौं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ । क्लबका अध्यक्ष विजय कुमार बर्नवालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का गभर्नर नवराज न्यौपानले क्लबले छोटो समयमा नै उत्कृष्ट काम गरेको बताएका थिए । लायन्सवाद नै विश्वको उत्कृष्ट शैली रहेको भन्दै उनले विभिन्न सामाजिक काममा हामी सेवा गर्छौं भन्ने मूल नारालाई आत्मसाथ गर्दै अगाडी बढाएको बताए ।
कार्यक्रममा डिष्ट्रिक ३२५ का मल्टीपल एफडब्लुसी जीएलटी कोर्डीनेटर तथा पूर्व गभर्नर अरुण प्रताप राणाले लायन्स क्लब अफ बुटवल स्टार्सले गरेको काम अन्य क्लबहरुको लागि समेत नमूनाको रुपमा रहेको भन्दै स्टार्सको सिको अन्य क्लबले गर्नुपर्ने बताए ।
कार्यक्रममा डिष्ट्रिक ३२५ पी का फष्ट भिडिजी अर्जुनमान सैंजु, डिष्ट्रिक ३२५ पी सेकेण्ड भिडिजी पुरुषोत्तम प्रधानाङ्ग, पूर्व गर्भनर महेन्द्र नारायण श्रेष्ठ, डिष्ट्रिक सचिव सन्दीप कसौधन, डिष्ट्रिक कोषाध्यक्ष विनोद खरेल, लायन्स डिष्ट्रिक एडभाईजर तथा क्लबका पूर्व अध्यक्ष आशिष कृष्ण श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
क्लबका निवर्तमान अध्यक्ष एञ्जील खानले आफ्नो कार्यकालमा विभिन्न कार्यक्रम तथा क्रियाकलापमा संयोजकको भूमिका निर्वाह गर्ने क्लबका सदस्य तथा सहयोगी सबैलाई धन्यवादसहित मायाको चिनोले सम्मान गरेका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष विजय वर्नवालले क्लवको शाखलाई सदैव उच्च्तम विन्दुमा राख्न आफूले भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । क्लबले आगामी दिनमा बालबालिकाको शिक्षा र स्वास्थ्यमा विशेष काम गर्ने उनको भनाइ थियो ।
क्लबको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा भुपेन्द्र अर्याल, द्वितीय उपाध्यक्षमा विश्वजीत कसौधन, तृतीय उपाध्यक्षमा राजन जिसी, सचिवमा डी.एस. भट्टराई र कोषाध्यक्षमा अब्दुल सलामत रहेका छन् ।
साथै लायन्स क्लव अफ बुटवल स्टार्सले भगिनी क्लबको रुपमा ‘लायन्स क्लव अफ बुटवल गरिमा’ समेत स्थापना गरिएको छ । निशा शर्माको अध्यक्षतामा उक्त क्लब गठन भएको हो । क्लबका ११ जना सदस्यले लायन्स फाउण्डेशनको सदस्यता प्राप्त गरेका थिए ।
सोही कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का गभर्नर नवराज न्यौपानेलाई क्लबका अध्यक्ष विजय कुमार वर्नवालले सदस्यतावापतको चेक प्रदान गरेका थिए । भुपेन्द्र अर्यालको संयोजकत्वमा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्षसहित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij