२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

तिलोत्तमाका मेयरले आफ्नो तलबको रकम १४९ विद्यार्थीलाई छात्रवृत्ति दिए

बुधवार , भाद्र २९, २०७९

बुटवल : तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले आफ्नो सेवा सुविधा बापतको रकम छात्रवृत्ति दिएका छन्। उनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ५८ औँ राष्ट्रिय बाल दिवसमा छात्रवृत्ति दिएका हुन्।

उनले नगरभित्रका ४२ सामुदायिक विद्यालयका १ सय ४९ जना जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई प्रतिव्यक्ति ४ हजार छात्रवृत्ति दिएका हुन्।

कार्यक्रममा उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आफू प्रतिबद्ध रहेको बताएका थिए।

निवर्तमान मेयर वासुदेव घिमिरेले पनि आफ्नो सेवा सुविधाबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने गरेका थिए।

कार्यक्रममा बालबालिकाहरूले नगरप्रमुख खाँण, उपप्रमुख जागेश्वरी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसँग अन्तर्संवाद गरेका थिए।

सो अन्तरसम्वादमा नगरप्रमुख खाँणले आफ्नो पालामा भन्दा अहिलेका बालबालिकाहरूलाई धेरै अवसरहरू रहेको बताए।

अहिलेका बालबालिकामा चुनौतीसँगै अवसरहरू पनि धेरै रहेकाले अवसरहरूको सही तरिकाले उपयोग गर्न बालबालिकाहरूलाई उनले सुझाव दिएका थिए।

उपप्रमुख चौधरीले आफ्नोपालाको स्कुले जीवन धेरै दुखद रहेको स्मरण गर्दै छोरा र छोरीमा धेरै विभेद रहेको र छोरीलाई पढाउनु हुन्न भन्ने सोच रहेको अनुभव बाँडिन्। उनले अहिले त्यो सोचमा परिवर्तन आएको देख्दा खुसी लाग्ने बताइन्।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आफ्नो पालमा कम्प्युटर र मोबाइल जस्ता प्रविधि नभएको र अहिले रहेको बताउँदै विद्यार्थीलाई यस्ता प्रविधिको सही प्रयोग गरे धेरै कुरा सिक्न सकिने बताए।