२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

भैरहवामा छाडा चौपायाको व्यवस्थापन : गाईगोरुको कानमा ट्याग लगाईयो

बुधवार , भाद्र २९, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, २९ भदौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा छाडा चौपायाको व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाईएको छ ।

    छाडाचौपायाका कारण नगरमा समस्या बढ्दै गएपछि व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाईएको हो ।
     
    नगरमा छाडाचौपायाको रुपमा विशेष गरी गाई-गोरु र कुकुर छन् । बुधवार वडा नम्बर ६ स्थित शिवदास हलुवाईको फर्ममा ५ वटा गाई-गोरुको कानमा ट्याग लगाएर योजनाको सुरुवात गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

    सिुद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खानले नगरमा छाडाचौपायाको व्यवस्थापन योजना अन्तर्गत नगरमा कृषक र पालन गरिएका गाई(गोरुको तथ्यांक संकलन गरी छाडा छाडिने गाई(गोरुको नियन्त्रणका लागि उनीहरुको कानमा ट्याग लगाईएको बताए  ।

    “अहिले हामीले कृषकले पालन गरेका गाई(गोरु छाडा नछाडुन भन्ने उद्देश्यले पहिचानका लागि गाई(गोरुको कानमा ट्याग लगाउन सुरु गरेका छौँ”, नगर प्रमुख खानले भने, “यसले छाडा छाडिने चैपाया (गाईगोरु) को संख्यामा नियन्त्रण हुने विश्वास छ ।”

    कृषकले पालन गरेका गाई-गोरुको पहिचानका लागि नम्बरको आधारमा उनीहरुको कानको ट्याग लगाईएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताईन् ।

    “कानमा ट्याग लगाईएकोले कृषकहरुले अब गाईगोरु छाडा छाड्दैनन् भन्ने विश्वास छ” उनले भनिन्, “ट्याग लगाईएको पशु कसैले छाडेको पाईएमा सजिलै पहिचान हुने र पहिलो पटकको लागि दस हजार जरिवाना कारवाही गरिनेछ ।”

    नगरमा छाडाचौपायाका कारण सवारी दुर्घटना हुनुका साथै अनेक समस्या छन् । सिद्धार्थनगरमा खुल्ला सीमाका कारण भारत र छिमेकी पालिकाहरुबाट पनि छाडा चौपाया आउने गरेका छन् ।
     
    नगर क्षेत्रका सडकमा रहेका छाडा चौपाया (गाईगोरु) को व्यवस्थापनका लागि कान्जी हाउस निर्माणको योजना रहेको र छिट्टै निर्माण सम्पन्न हुने गरी कार्य अघि बढाईएको प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए । जसका लागि वडा नम्बर ११ मा स्थलगत निरीक्षण गरी स्थलको पहिचान गरिएको छ ।

    यस्तै छाडाचौपायाको व्यवस्थापन अन्तर्गत नगरका सडक क्षेत्रमा रहेका भुस्याहा कुकुरको पनि व्यवस्थापन गर्ने योजना रहेको र संचालित यस योजना पश्चात भुस्याहा कुकुरको व्यवस्थापन तर्फ लागिने उनको भनाई छ ।

    छाडा चौपायाको व्यवस्थापनका लागि सिद्धार्थनगरको एकल प्रयासले मात्र नभई छिमेकी पालिकाहरुले पनि योजना संचालन गर्नुपर्ने र यसले समग्र क्षेत्रलाई नै फाईदा पुग्ने सरोकारवालाहरुको भनाई छ ।