२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

स्व. बिन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कार मोहम्मद हबिबलाई

बुधवार , भाद्र २९, २०७९

भैरहवा, २९ भदौ ।
स्व. बिन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कार–२०७९ बाट पत्रकार मोहम्मद हबिब सम्मानित भएका छन् । पत्रकार स्व. चौहानको स्मृतिमा मधेशी पत्रकार समाज नेपाल, जिल्ला कार्यसमिति रुपन्देहीले स्थापना गरेको उक्त पुरस्कार हबिबलाई प्रदान गरिएको हो । उनी लुम्बिनी दैनिक, न्यूज कारखानामा आबद्ध छन् ।

मधेशी पत्रकार समाजका सदस्य तथा प्रेस चौतारी नेपाल रुपन्देहीका कार्यसमिति सदस्य समेत रहेका पत्रकार हबिबलाई कर्मठ, लगनशील र निष्ठवान रही पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएकोमा मुल्यांकन गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरणका लागि मधेशी पत्रकार समाज जिल्ला कार्यसमितिको बैठकले समाजका लुम्बिनी प्रदेश अध्यक्ष राम विकास चौधरीको संयोजकत्वमा तीन सदस्यीय पुरस्कार मुल्यांकन समिति गठन गरेको थियो । 

समाजले बुधबार भैरहवामा एक कार्यक्रम गरी उनलाई नगद रु. १० हजारसहित प्रशंसापत्रबाट सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार हबिबलाई नगद तथा प्रशंसापत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोखरेलले सच्चा, इमान्दार, लगनशील पत्रकार बिन्दु कुमार चौहानलाई गुमाउँदा निकै दुःखित भएको बताए । उनले स्व. चौहानको लगनशीलता, इमान्दारितालाई सदैव सम्झिने बताए । पत्रकारिता पेशालाई मर्यादित बनाउनुपर्ने भन्दै पोखरेलले पत्रकारको हकहितको लागि महासंघ लागिपरेको बताए । उनले भने, ‘पत्रकार महासंघ रुपन्देहीमा आबद्ध सदस्यहरुका लागि दुर्घटना भएको अवस्थामा औषधीउपचारका लागि एक लाख रुपैयाँ दावी गर्न पाउने गरी बीमा गरिएको छ । ’

मधेशी पत्रकार समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य रामविकास चौधरीले स्व. बिन्दु कुमार चौहानको योगदानको चर्चा गर्दै आफूले स्व. चौहानसँग धेरै कुरा सिक्ने अवसर पाएको बताए । उनले पत्रकार स्व. चौहानको संघर्षको कथा भनेर साध्य नलाग्ने समेत बताए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले स्व. बिन्दु कुमार चौहान पत्रकारिताको धरोहर भएको बताए । उनले चौहानलाई सबै मिलेर बचाउने धेरै प्रयास गरे पनि प्रयास सफल हुन नसकेको बताए । क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

मधेशी पत्रकार समाज रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्माले आगामी दिनमा पत्रकार स्व. बिन्दु कुमार चौहानको योगदानको कदर गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए । 

मधेशी पत्रकार समाज, रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्माको अध्यक्षता, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको प्रमुख आतिथ्यता, समाजका कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्ताको स्वागत तथा सचिव हृदयराम गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बुटवल टुडे राष्ट्रिय दैनिक, बुद्ध सामूदायिक टेलिभिजन लगायतका सञ्चारमाध्यममा आबद्ध लुम्बिनी साँस्कृतिक नगरपालिका–११ निवासी पत्रकार बिन्दु कुमार चौहानको २०७८ भदौ २९ गते उपचारका क्रममा निधन भएको थियो ।