२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

तिनाउ नदीमा बन्ने सिग्नेचर पुलबारे जनप्रतिनिधि र विश्व बैंकका प्रतिनिधिबीच छलफल 

बुटवलका पर्यटकीय स्थल र संस्कृतिसँग जोड्न सुझाव

बुधवार , भाद्र २९, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बुटवल, २९ भदौ । 
    बुटवलको तिनाउ नदीमा बन्ने आकर्षक सिग्नेचर पुलको आर्किटेक डिजाइनमाथि छलफल भएको छ । आधुनिक पुलको डिजाइन तयार पारेको नेपाली र विदेशी इञ्जिनियरहरुले बुटवलका जनप्रतिनिधिसँग छलफल गरेका हुन् । 

    मंगलबार बुटवल उपमहानगरपालिकाको कार्यालयमा विश्व बैंकका प्रतिनिधिले जनप्रतिनिधि र सरोकारवालासँग पुलको आर्किटेक डिजाइन, यसले ओगट्ने क्षेत्र र पार्ने प्रभावका बारेमा छलफल गरेका हुन् ।  

    चिनियाँ, भारतीय, स्वीस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भइसकेको छ । डिजाइनअनुसार पुल निर्माणको प्रक्रिया अघि बढाउनका लागि बुटवलमा आएका विश्व बैंकका प्रतिनिधिलाई पुल निर्माणका लागि उपमहानगरको तर्फबाट सहकार्य गर्न तयार रहेको र बुटवलको आवश्यकताका बारेमा जानकारी गराइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । उनले पुल निर्माणका क्रममा आवश्यक पर्ने जग्गा व्यवस्थापन र पुल आसपासको क्षेत्रको बस्तीका बारेमा थप अध्ययन गरेर निर्णय गर्ने जानकारी गराएको बताए । पुलको डिजाइन तयार पार्ने क्रममा पुलको पूर्वी प्रवेशद्वार नजिकै राधाकृष्ण टोल र विकास पथका बीचमा भूमिगत सडक जोड्ने र पश्चिमतर्फको मार्ग पनि कायमै रहने गरी डिजाइनलाई अन्तिम रुप दिन सुझाव दिइएको नगरप्रमुख पाण्डेयले बताए । 

    ‘यो सामान्य पुल मात्रै हुनेछैन, जितगढी किल्ला, युद्ध संग्रहालय, बुटवलको पूरानो बस्ती, हिन्दूका मन्दिर र मुस्लिमका मस्जिदका बीचमा समेत मैत्रीभाव राख्ने सन्देश दिने गरी संयोजन गरेको पूल बन्नेछ, उनले भने, ‘यो पुलको वारीपारी चेक ड्याम बनाएर तलाउ बनाइनेछ र नदी किनारमा आरती गर्ने, रात्रीकालीन बजारमा रमाउने गरी लाइटिङ हुनेछ ।’ नगरप्रमुख पाण्डेयले पुलसँगै हरियाली बगैचा, क्याफे र विश्रामस्थलहरु समेत बन्ने हुँदा यसले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताए ।

    ‘जितगढी किल्ला, युद्ध संग्रहालय, पूरानो बुटवल, आसपासका धार्मिक र पर्यटकीय स्थलहरुको अवलोकन गर्न पुलले सहयोग गर्नेछ,–उनले भने, ‘पुल र यहाँका ऐतिहासिक, पूरातात्विक स्थलहरु एकअर्काका सहयोगी बन्नेछन्, यसबाट पर्यटक आकर्षित हुनेछन् र स्थानीयको व्यापार व्यवसायमा लाभ हुनेछ ।’ 

    छलफलका क्रममा विश्व बैंककी दक्षिण एशिया शहरी विकास इकाईकी वरिष्ठ शहरी विकास योजनाकार स्टेफनिया अबकेर्लीले तिनाउमा बन्ने पुल नेपालकै नमूना र पर्यटकीय स्थलहरुसँग जोडिएकाले यसले स्थानीय बासिन्दा र स्थानीय सरकारलाई लाभ दिलाउने बताइन् । उनले ऐतिहासिक र पर्यटकीय स्थलहरु जितगढी किल्ला र युद्ध संग्रहालयमा पर्यटक आउनका लागि पुलले समेत सहयोग पुर्याउने बताइन् । उनले स्थानीय सरकारका तर्फबाट पुल निर्माणका लागि स्थानीय रुपमा समन्वय गरिदिनका लागि बुटवल उपमहानगरपालिकालाई आग्रह गरिन् ।

    सिग्नेचर पुलका लागि भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको छ । 

    छलफलमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँ, बुटवल उपमहानगरपालिकाी उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, विश्व बैंकका प्रतिनिधि सञ्जय सक्सेना, परामर्शदाता, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इञ्जिनियर होम बहादुर एसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, वडा नम्बर १, २ र ५ का अध्यक्षहरुको सहभागिता रहेको थियो ।