२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लिस्नु कप फुटबल प्रतियोगिता : सञ्जिवनी युवा क्लब सेमीफाइनलमा

मंगलवार , भाद्र २८, २०७९

भैरहवा, २८ भदौ ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा बाघधुरा रुपन्देहीको कोटिहवामा जारी २० औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा स्याङ्गजाको वालिङ नगरपालिका टीमलाई ३–० गोलले पराजित गर्दै सञ्जिवनीले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको पुर्बाद्र्धसम्म (३५ मिनेट) दुवै टीमले गोलरहित बराबरी खेलेका थिए । उत्तराद्र्धको ४१ मिनेटमा वालिङका रक्षकले सञ्जिवनीका खेलाडीलाई डी बक्स भित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएकोमा सञ्जीवनीका आशिष गुरुङले गोल गर्दै १–० को अग्रता दिलाए । १ गोलले पछि परेको पाहुना टीम वालिङले ६० मिनेटमा दोस्रो गोलको भार थप्यो । सञ्जिवनीका मोहन थापाले गोल गर्दै अग्रता २–० बनाउन सफल भए । खेल सकिन केही मिनेट बाँकी रहदा सञ्जिवनीका सुरज घलानले गोल थपे ।उनको गोलसँगै सञ्जिवनीको सेमीफाइनल यात्रा थप सुनिश्चित भयो ।

उत्तराद्र्धमा वालिङले  गोलका लागि ४ वटा राम्रो प्रयास गरे पनि सञ्जिवनीका गोल रक्षकले बिफल तुल्याएका थिए ।
सञ्जिवनीका दिपेश परियारले उत्कृष्ट खेल प्रदर्शन गरेवापत म्यान अफ म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । परियारलाई समाजसेवी एवं तिलोत्तमा नगरपालिकाका पूर्व नगर कार्यपालिका सदस्य एच.बी. रम्तेलले पुरस्कार प्रदान गरे ।
त्यसै गरी माईडियाद्वारा प्रायोजित माईडिया म्यान अफ द मुखमेन्ट पुरस्कारबाट सञ्जिवनीकै मोहन थापा पुरस्कृत भए । उनलाई माईडिया भैरहवाका प्रबन्धक कमल गुरुङले उपहारसहित पुरस्कृत गरे ।

प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्जाका गरी १६ टीमको सहभागिता रहेको छ भने विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

त्यसै गरी सेमीफाइनलमा पराजित हुने २ टीमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तीर्थ राज मल्लले बताए ।

प्रतियोगितामा यसपटक सोही स्थानकी श्रीमाया गुरुङले आफना बुवा स्व. डिम बहादुर गुरुङको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत बुधवारको अन्तिम क्वाटर फाइनल खेल अञ्चलपुर युवा क्लब (एवाईसी) भैरहवा र आयोजक लिस्नु युवा क्लब तिलोत्तमाबीच हुने आयोजक संस्थाका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।