मंगलवार , भाद्र २८, २०७९
बुटवल, २८ भदौ ।
रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि सुरु भएको छ । मंगलबार बिहान बुटवल-१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम सुरु भएको हो । नापजाँच कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ड्रोन उडाएर शुभारम्भ गरेका हुन् ।
जग्गा नापजाँचको शुभारम्भ गर्दै प्रमुख पाण्डेयले मोतीपूर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बताए । उनले औद्योगिक क्षेत्र बनाउनयोग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्षेत्रका लागि सिफारिस गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने बताए । ‘यसअघि मोतीपूर औद्योगिक क्षेत्रको नाममा जग्गा ल्याउँदा अनुमानका आधारमा ल्याइएको रहेछ, उनले भने, ‘अब ड्रोनबाट गरिने नापजाँचपछि यो क्षेत्रमा कति जग्गा छ र कति जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्न सकिन्छ भन्ने कुरा यकिन हुनेछ, त्यसपछि औद्योगिक क्षेत्रको जग्गा पर्ने बुटवलसहितका पालिकाहरुले कार्यपालिका बैठकबाट निर्णय गरेर संघीय सरकारलाई पठाइनेछ ।’ उनका अनुसार संघीय सरकारले स्थानीय तहको सिफारिसका आधारमा औद्योगिक क्षेत्रका नाममा थप जग्गा ल्याउनुपर्ने या घटाउनुपर्ने भएमा निर्णय गरेर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउने छ ।
‘अहिले औद्योगिक क्षेत्रको जग्गा ८१३ बिगाहा भन्ने लालपूर्जा आए पनि कहाँदेखि कहाँसम्मको जग्गा भन्ने यकिन नभएकाले विवाद थियो, अब यो विवाद हट्नेछ, स्थानीयको पनि चित्त बुझ्नेछ र औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्नेछ’–उनले भने ।
उनले २०२६ सालदेखि जोतभोग गर्दै आएका र लालपुर्जा नै रहेका जग्गा जसको हो उसैलाई दिलाउने प्रक्रिया कार्यदलले बुझाउने प्रतिवेदनपछि अघि बढ्ने गरी काम हुने बताए । ‘विगतमा को कहाँ बसेको थियो भन्ने प्रमाण वडाहरुले राखेका छन्, उनले भने, ‘अब थप अतिक्रमण हुन रोकेर पूराना बासिन्दाको अवस्थाअनुसार हामीले सिफारिस गर्नेछौं, यहाँ नयाँ अतिक्रमणको काम हुन दिइनेछैन ।’
प्रमुख पाण्डेयले औद्योगिक क्षेत्रमा जग्गा नापजाँचको काम सफल बनाउन स्थानीय र राजनीतिक दललाई सहयोग गर्न आग्रह गरे । उनले औद्योगिक क्षेत्र सफल बनाएर उद्योग स्थापनाका लागि बुटवलले अगुवाइ गर्ने बताए ।
कार्यदलका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले औद्योगिक क्षेत्र रुपन्देहीकै लागि महत्वपूर्ण भएकाले सबैलाई साथ दिन आग्रह गरे । उनले राजनीतिक दल, स्थानीयबासीलाई साथमै लिएर अघि बढ्नुपर्ने बताए ।
उनका अनुसार गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा बनेको कार्यदलले ड्रोनबाट जग्गा नापजाँच गरिसकेर प्रतिवेदन तयार गर्ने र सोहीअनुसार प्राप्त विवरणका आधारमा औद्योगिक क्षेत्रको जग्गाको क्षेत्रफल घटाउन सकिने वा नसकिनेबारे प्रतिवेदन तयार गरी पेश गर्नेछ । कार्यदलले प्रतिवेदन पेश गरेपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाले कार्यदलबाट प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाबाट निर्णय गरी सिफारिस गर्ने कार्यदलका सदस्य सचिव बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।
औद्योगिक क्षेत्रमा कुन ठाउँदेखि कुन ठाउँसम्म कति जग्गा औद्योगिक क्षेत्रको नाममा रहेको हो भन्ने यकिन गर्न ड्रोनबाट नापजाँच गर्ने र त्यसैअनुसार प्रतिवेदन तयार गरेर बुझाउने सदस्य सचिव पन्थीले जानकारी दिए ।
मोतीपूर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरणका लागि १० भदौमा गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा कार्यदल बनेको थियो । लामो समय बसोबास गरेका र लालपुर्जा भएका स्थानीयले जग्गा खाली नगरेपछि ६ वर्षदेखि अलपत्र मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि बुटवल उपमहानगरपालिकाको पहलमा जग्गा यकिन हुन लागेको हो । पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भएपनि स्थानीयको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij