सोमवार , भाद्र २७, २०७९
बुटवल, २७ भदौ ।
रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि सुरु हुने भएको छ । जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाको कार्यालयमा बसेको कार्यदलको बैठकले मोतीपूर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचान गर्नका लागि मंगलबारदेखि ड्रोनबाट नापजाँच गर्ने निर्णय गरेको हो ।
बैठकले मंगलबार बिहानदेखि ड्रोनमार्फत जग्गाको नापजाँचको काम सुरु गर्ने निर्णय गरेको कार्यदलका सदस्य सचिव तथा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम सुरु गरिनेछ ।
सो क्षेत्रमा कुन ठाउँदेखि कुन ठाउँसम्म कति जग्गा औद्योगिक क्षेत्रको नाममा रहेको हो भन्ने यकिन नभएकाले ड्रोनबाट नापजाँच गर्ने र त्यसैअनुसार प्रतिवेदन तयार गर्ने जिम्मेवारीअनुसार काम अघि बढाइएको सदस्य सचिव पन्थीले जानकारी दिए ।
बैठकमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले औद्योगिक क्षेत्र सफल बनाउन स्थानीय र राजनीतिक दललाई सहयोग गर्न आग्रह गरे । उनले औद्योगिक क्षेत्रको मूल समस्या समाधान गर्दै उद्योगी व्यवसायीलाई समेत आकर्षित गर्नका लागि नगरले आवश्यक काम अघि बढाउने बताए । उनले औद्योगिक क्षेत्र सफल बनाएर उद्योग स्थापनाका लागि बुटवलले अगुवाइ गर्ने बताए ।
बैठकमा कार्यदलका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले औद्योगिक क्षेत्र रुपन्देहीकै लागि महत्वपूर्ण भएकाले सबैलाई साथ दिन आग्रह गरे । उनले राजनीतिक दल, स्थानीयबासीलाई साथमै लिएर अघि बढ्नुपर्ने बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij