२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

डेंगीबाट जोगिन सचेतना अपनाउन आग्रह

आइतवार , भाद्र २६, २०७९

भैरहवा, २६ भदौ । 
तीव्र रुपमा फैलिरहेको डेंगीबाट जोगिन घरबाटै सचेतना आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर १ मा आयोजित डेंगीबाट हुने जोखिम तथा यसबाट जोगिने उपाय विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सोही कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु)ले डेंगबाट जोगिन घरटोलबाट नै सचेतना अपनाउन आग्रह गरे । 

पडसरी स्वास्थ्य चौकीको आयोजनामा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका लागि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यसको लागि ६ वटै वडामा अभियान लैजाने बताए । उनले स्थानीयले पनि आफू छेउछाउमा पानी जम्न नदिन तथा लामखुट्टेको टोकाइबाट जोगिने उपायहरु अवलम्बन गर्न आग्रह गरे । गाउँपालिकाले डेंगी परीक्षण तथा यसका उपचार पालिकाबाट नै गर्ने र यसको लागि आफू व्यवस्थापनमा लागेको उनले जानकारी दिए । 

सोही कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले टोलटोलमा सरसफाइ अभियान तथा लामखुट्टेको बासस्थान मास्ने गरी अभियान चलाउन आवश्यक रहेको जानकारी दिईन । डेंगीका कारण ज्यानकै जोखिम भएको हुनाले यसबाट सचेत हुन उनले सबैलाई आग्रह गरिन । 

स्वास्थ्य चौकीका मुंगेरीलाल चौधरीले डेंगी रोगको परिचय, यसको लक्षण, हुन सक्ने क्षति तथा यसबाट जोगिने उपायको बारे समितिलाई जानकारी गराएका थिए । उनले डेंगीबारे समयमै पालिकाले किट उपलब्ध गराई यसको नियन्त्रणमा गम्भिर हुन आग्रह गरे । 

ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर बराल मगरको अध्यक्षता तथा गाँउपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यहरु ईश्वरी गौतम, लक्ष्मी पौडेल लगायतको उपस्थिति रहेको थियो ।