शुक्रवार , भाद्र २४, २०७९
भैरहवा, २४ भदौ ।
रुपन्देहीका दुई स्थानबाट भन्सार छलेर ल्याइएको ठूलो परिमाणको चिनी र चामलसहित दुईवटा ट्रक सशस्त्र प्रहरीले बरामद गरेको छ । दुईवटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित दुईवटा ट्रक बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गण हेड क्वार्टर रुपन्देहीले जनाएको छ । ट्रकसहित बरामद सामानको बजार मुल्य १ करोड ३८ हजार ५ सय रुपैयाँ रहेको रहेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमप्रकाश सिग्देलले बताए । सिग्देलका अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ मसिना हुलाकी मार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४१२९ नम्वरको ट्रकलाई अन्डर बिलिङ्ग भएको आशंकामा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रुपमा भित्राइएको केएससीएम ब्राण्डको भारतीय चिनी फेला परेको थियो ।
उक्त ट्रकका चालक प्युठानको माण्डवी गाउँपालिका–३ नयाँगाउका बिनोद थापालाई नियन्त्रणमा लिई कारवाहीको लागि राजस्व कार्यालय बुटवलमा पठाइएको सिग्देलले बताए । त्यस्तै रुपन्देहीकै ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरस्थित हुलाकी मार्गबाट भैरहवातर्फ जाँदै गरेको ना ३ ख ६३२७ नम्वरको ट्रकबाट पनि चिनी बरामद भएको सूचना अधिकारी सिग्देलले बताए । उक्त ट्रकका चालक भने फरार भएको उनले बताए । यति ठूलो परिमाणमा भन्सार छलीको सामान बरामद भएको यो आर्थिक वर्षमा पहिलो भएको सशस्त्र प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij