बुधवार , भाद्र २२, २०७९
भैरहवा, २२ भदौ ।
वर्षौदेखि ठेकेदार कम्पनीले अलपत्रमा अवस्थामा छाडेको बेलहिया सडकखण्डको समयमै निर्माण सम्पन्न नगर्दा सर्वसाधारणका साथै पर्यटकहरुले सास्ती खेप्नु परेको छ । बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजना कार्यालय अन्तर्गत बेलहियादेखि बुटवलसम्म सडक निर्माणधिन अवस्थामा छ । अधिकांश क्षेत्रको सडक निर्माणसम्पन्न भए पनि ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सनले पाएको तीनवटा स्थानीय तह क्षेत्रको ठेक्का अलपत्र छाडेको छ । उसले सिद्धार्थनगर नगरपालिकाको बेलहिया, ओमसतिया गाउँपालिकाको पडसरी र बुटवल उपमहानगरपालिकाको बुटवल क्षेत्रको सडक निर्माणको ठेक्का पाएको थियो ।
स्थलमार्ग हुँदै मुलुकमा सबैभन्दा बढी पर्यटक बेलहिया सीमा नाका हुँदै भित्रिन्छन् । यो नाका हुँदै सर्वसाधारणदेखि लिएर भीभीआईपीहरुको आवागमन हुने गर्दछ । तर, ठेक्का पाएको बिरुवा कन्स्ट्रक्सनले सडक निर्माण सम्पन्नमा आनाकानी गर्दै आएको छ ।
बेलहिया बजार क्षेत्रमा सबैले सास्ती खेप्नु परेको देखिएपछि ठेकेदार कम्पनी, आयोजना कार्यालय लगायत सम्बन्धित निकायमा काम सम्पन्नका लागि पटकपटक आग्रह गर्दै आए पनि ठेकेदार कम्पनीले सडक निर्माणमा तदारुकता नदेखाएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।
ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा नगरपालिकाले सौन्दर्यकरण, भौतिक पूर्वाधार लगायतका योजना सञ्चालन गर्नमा समेत समस्या परेको उनको भनाइ छ । सडक निर्माण कार्य आयोजना कार्यालय अन्तर्गत भएकोले ठेकेदार कम्पनीले अलपत्र छाडेको सडक निर्माणका लागि सम्बन्धित स्थानीय तहहरुको आग्रहलाई वेवास्ता गर्दै आएको छ ।
ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न पटकपटक आग्रह गरिए पनि अटेर गर्दै आएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए । ‘हामीले ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयहरुलाई छिट्टै नै सडक निर्माण गर्न पटकपटक आग्रह गरिरहेका छौँ’ उनले भने, ‘तर, बेलहियाको निर्माणधिन सडक आयोजना नगरपालिका कार्यालयको मातहत नहुदाँ हामीले ठेकेदार कम्पनी उपर कुनै किसिमको कारवाही प्रक्रिया समेत अघि बढाउन सकेका छैनौ ।’
उनले थपे, ‘सडक निर्माणको योजना नगरपालिकाले गराउने भए हामीले उहिले सम्पन्न गराई सक्थ्यौँ तर आयोजना कार्यालयको मातहत हुँदा ठेकेदार कम्पनीले हाम्रो आग्रहलाई वेवास्ता गर्दै आएको छ ।’ बेलहिया नाकाले मुलुककै अवस्था दर्साउने भएकोले बिना आनाकानी सम्बन्धित निकायहरुले सडक निर्माण सम्पन्न गराउनुपर्ने उनको भनाइ छ ।
सडकको काम सम्पन्न गराउन सहजीकरणका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित समितिले ठेकेदार कम्पनीलाई कार्यालयमा डाकेर सम्पन्न गर्न आग्रह गर्दा काम सुरु गर्ने प्रतिवद्धता जनाएर गएको ठेकेदार प्रतिनिधिलाई पटकपटकको आग्रह पश्चात् पनि वेवास्ता गर्दै आएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij