२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

नेपाली सेना श्री गोरखदलको आयोजनामा सुस्तामा निःशुल्क स्वास्थ्य शिविर

मंगलवार , भाद्र २१, २०७९

परासी, २१ भदौ । 
विशेषज्ञ चिकित्सकसहित उपचार सेवा प्रदान गर्न थालेपछि नेपाली सेनाको स्वास्थ्य शिविरमा बिरामीको निकै भिड बढ्यो । विशेषज्ञ टोलीसहित नसर्ने ८ प्रकारको रोगसम्बन्धी बिरामीहरुको स्वास्थ्य परीक्षण गरी निशुल्क रुपमा औषधी वितरण गर्न थालिएपछि विरामीहरुको चाप बढेको थियो ।

नेपाली सेना श्री गोरखदल गण रामग्राम ब्यारेक नवलपरासीले जिल्लाको सुस्ता गाउँपालिका नर्सहीमा स्वास्थ्य शिविर सञ्चालन गरेपछि यो दृश्य हेर्न पाइयो । श्री गोरखदल गणले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न ८ प्रकार रोगसम्बन्धी ६८० जना विरामीले उपचार सेवा लिए । जिल्लाको विकट पालिकाको रुपमा रहेको सुस्ता गाउँपालिकाका गरीब अतिविपन्न जनताले नसर्ने रोग सम्बन्धि दैलोमै उपचार सेवा पाउन र यहाँका जनताले बढी भन्दा बढी लाभ लिउन भनी विश्वासले यो शिविर आयोजना गरिएको श्री गोरखदल गणका गणपति प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिए ।

गणका गणपति प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको अध्यक्षता तथा श्री २२ नंं बाहिनी अड्डाका बाहिनीपति सहायक रथी नवराज गुरुङको प्रमुख आतिथ्यतामा उक्त स्वास्थ्य शिविर सञ्चालन भएको हो । स्वास्थ्य शिविरमा प्रभावकारी उपचार सेवा प्रदान गर्न श्री फिल्ड अस्पताल बुटवलका निमित्त कमाण्डीङ अफिसर सहसेनानी डाक्टर ताहिर अलि अन्सारी र देवदह मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरुले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा विशेषज्ञ डाक्टरहरुले नसर्ने रोग जस्तै हाडजोर्नी, बालरोग, स्त्री रोग, छाला रोग, आँखा, नाक, कान, दन्तसम्बन्धी रोगहरुको परीक्षण गरी निःशुल्क औषधी वितरण गरेको गणपति प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए । स्वास्थ्य शिविरमा श्री गोरख दलका स्वास्थ्यकर्मी तथा विभिन्न ओहदाका सेना, नर्सही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सघाएका थिए । यसरी विशेषज्ञसहितको स्वास्थ्य श्री गोरख दलले आयोजना गरेपछि उपचार सेवा लिन बिरामीहरुको निकै भिड भएको थियो । यस्तो स्तरको स्वास्थ्य शिविर सञ्चालनपछि यसको चौतर्फी माग बढेको छ । शिविरबाट उपचार सेवा पाउने विरामीहरुले निःशुल्क रुपमै औषधी पनि पाएर निकै खुशी व्यक्त गरेका छन् ।

army 2.jpg

नेपाली सेना श्री गोरखदलको आयोजना, सुस्ता गाउँपालिकाको सहकार्य, देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा जिल्ला स्वास्थ्य कार्यालय, पृथ्वीचन्द्र अस्पताल, नेपाल औषधी व्यवसायी संघ नवलपरासीले औषधी सहयोग गरेको छ ।

स्वास्थ्य शिविर नेपाली सेना २२ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी नवराज गुरुंग, सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, प्रहरी उपरीक्षक रिषीराम कंडेल, सशस्त्र प्रहरी उपरीक्षक रुप कुमार क्षेत्री, अनुसन्धान विभागका एसपी टीका पोख्रेल, स्वास्थ्य कार्यालय प्रमुख ओमप्रकाश पन्थी, सुस्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, देवदह मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष गोपाल पोख्रेल लगायको उपस्थिति रहेको थियो ।