२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

बेलायती राजदुतावासकी विकास निर्देशकद्वारा जितगढी किल्लाको अवलोकन

शनिवार , भाद्र १८, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • बुटवल, १८ भदौ । 
    नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले बुटवलस्थित जितगढी किल्लाको अवलोकन गरेकी छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अनुरोधमा नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले शनिबार बिहान जितगढी किल्ला र पूरानो बुटवलको अवलोकन गरेकी हुन् ।

    बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा बुटवल आइपुगेको वर्ड नेतृत्वको टोलीसँग शुक्रबार भएको भेटमा नगरप्रमुख पाण्डेयले जितगढी किल्ला र पूरानो बुटवलको अवलोकन गरी सहकार्यका लागि प्रस्ताव गरेका थिए । 

    नगरप्रमुख पाण्डेयले नेपाल–अंग्रेज युद्ध, युद्धकालमा भएका घटनाक्रम र जितगढी किल्लाका बारेमा निर्देशक वर्डलाई जानकारी गराएका थिए । उनले बुटवलको पूरानो बस्ती, शेनवंशीय ग्रीष्मकालीन दरबार र किल्ला आसपासको क्षेत्रको ऐतिहासिक, साँस्कृतिक महत्वलाई संरक्षण गर्ने गरी काम भइरहेको र युद्ध संग्रहालय निर्माणको चरणमा रहेको बताएका थिए ।

    पाण्डेयले नेपाल–अंग्रेजबीचको तत्कालीन समयको घटनालाई स्मरण गर्ने गरी आगामी दिनमा मित्रताको रुपमा सम्बन्ध अगाडि बढाउन र बुटवलप्रति सकारात्मक भावना राख्न निर्देशक वर्डलाई आग्रह गरे ।

    नगरप्रमुख पाण्डेयले लुम्बिनी भ्रमणमा आउने मन्त्रीलाई जितगढी किल्लाको भ्रमणका लागि सहजीकरण गर्न र आवश्यक सहकार्यका लागि प्रस्ताव गरे । 

    जितगढी र पूरानो बुटवलको अवलोकन गरेपछि निर्देशक वर्डले नेपाल–अंग्रेज युद्ध भएकोे स्थलमा घुम्न पाउँदा खुशी लागेको र इतिहासबारे जानकारी पाएको भन्दै खुशी व्यक्त गरेका थिए । उनले जितगढी किल्ला र आसपासको पूरानो बुटवलसँग जोडिने गरी बेलायत सरकारको तर्फबाट सहकार्यका लागि प्रयास गर्ने बताए । उनले बुटवल उपमहानगरपालिकासँग सहकार्यका लागि इच्छुक रहेको बताउँदै बेलायती मन्त्रीको भ्रमणका लागि प्रयास गर्ने बताए ।

    सो क्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले बुटवलको औद्योगिक अवस्थाका बारेमा निर्देशक वर्डलाई जानकारी गराएका थिए ।