२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

नेपालको विकासका लागि भारतले सहयोग गर्दै आएको छ : गृहमन्त्री खाँण

शनिवार , भाद्र १८, २०७९

भैरहवा, १८ भदौ ।
गृहमन्त्री बालकृष्ण खाँणले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको अतुलनीय सहयोग रहेको बताएका छन् । उनले नेपालको विकास लागि भारतले गरेको सहयोगप्रति धन्यवाद दिए । श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय रोहिणी गाउँपालिका–३ स्वामीनगर, धकधई रुपन्देहीको निर्मित दुईतले भवन तथा प्रयोगशालाको समुद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै गृहमन्त्री खाँणले भने, ‘नेपालको विकासका लागि भारतले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसका लागि धन्यवाद दिन चाहन्छु ।’

उनले संयुक्त राष्ट्र संघको एउटा गतिशिल मुलुकको रुपमा नेपाल अघि बढिरहेको र नेपाल भारत छिमेकी देश मात्र नभइ असल छिमेकी देश भएको बताए । नेपाली र भारतीय जनताबीचको सम्बन्धले दुई देशको सम्बन्ध प्रगाढ रहेको उनले बताए । उनले भने, ‘नेपाल र भारतको भाषा, भेषभुषा, संस्कृति, चाडपर्व मिल्दोजुल्दो छ, जनस्तरदेखि नै बलियो सम्बन्ध छ । ’ शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासको लागि भारत सरकारले निरन्तर सहयोग गर्दै आएको उनको भनाइ थियो ।

गृहमन्त्री खाँणले नेपालको संविधानले नेपाली जनतालाई शक्तिको केन्द्रमा राखेको र जनतालाई नेपालको मालिकको रुपमा स्थापित गरेको बताए । उनले भने, ‘नेपाली जनतालाई सबल, सक्षम बनाउँदै अगाडि बढ्नुपरेको छ । ’ गत वर्ष विश्वभरी कोभिड महामारीले जनताको जीवनमा गम्भिर प्रभाव परेको उनले बताए । उनले भने, ‘भारत सरकारले नेपाल सरकारलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको छ । ’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले विद्यालयको भवन निर्माण शैक्षिक क्षेत्रको महत्वपूर्ण र प्रशसंनीय कार्य भएको जहाँ हजारौं विद्यार्थीको उज्जवल भविष्यसँग सम्बन्धित रहेको बताए ।

नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा ४० प्रतिशत विद्यार्थी छात्रा हुनु महत्वपूर्ण भएको बताए । उनले भारतमा पनि छात्राको शिक्षामा सरकारले जोड दिएको बताए । उनले भने, न‘ेपाली र भारतीय जनताबीच राम्रो सम्बन्ध छ, नेपालमा बस्दा फरक अनुभुति हुँदैन, भारतमा भएको जस्तो लाग्छ । ’ उनले शिक्षा, स्वास्थ्यको क्षेत्रमा नेपाललाई सहयोग गर्न प्रयासरत रहने उल्लेख गरे ।

304931295_5295305080505668_4826484875599435268_n.jpg

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताए । उनले नेपालको विकासको भारतको योगदान रहँदै आएको बताए । 

राप्रपाकी केन्द्रीय सदस्य स्वाती थापाले पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको पहलमा श्री रामनरेश यादव आदर्श माध्यमिक विद्यालय लगायत यस क्षेत्रमा रहेका अन्य विद्यालयमा भारतीय दुतावासबाट सहयोग प्राप्त भएको बताइन् । उनले नेपाल र भारतबीच अझ सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा जोड दिइन् ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले यहाँका अग्रजहरुको सहयोग र पहलले शिक्षा क्षेत्रको विकास भएको बताए । 

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विद्यालयलाई गाउँपालिकाबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।उनले शिक्षा क्षेत्रको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैजनाथ सहानीको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक राम सुरेश वर्माको स्वागत तथा पत्रकार सन्जु पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

भारत सरकारको अनुदानमा निर्मित दुईतले भवन तथा प्रयोगशालाको गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।