शुक्रवार , भाद्र १७, २०७९
भैरहवा, १७ भदौ ।
उद्योग व्यापार संगठन, रुपन्देहीले आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यलाई विदाई गरेको छ । सरुवा भएर अर्थ मन्त्रालयमा जान लाग्नुभएका आचार्यलाई शुक्रबार एक कार्यक्रमकाबीच विदाई गरिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।
सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत आचार्यले आफू १४ वटा जिल्लामा बसेर १५ औं कार्यालयमा जान लागेको बताए । उनले भने, ‘मान्छेको सफलता पद प्राप्ती मात्र होइन, पदमा रहँदा के काम गर्न सकियो भन्ने कुरा सफलता हो । ’ करिब २१ महिना आन्तरिक राजस्व कार्यालय भैरहवामा प्रमुख अर अधिकृतको रुपमा काम गरेको उनको भनाइ थियो । उनले भने, ‘कर प्रशासनमा काम गरेको १० वर्ष भयो, विभिन्न जिल्लाकै साथै केन्द्रमा नीतिगत तहमा काम गरे, अहिले अर्थ मन्त्रालयमा सरुवा भएको छ । ’
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यसँग सहकार्य गर्दै संगठनले धेरै कार्यक्रम गरेको बताए । उनले भने, ‘प्रमुख कर अधिकृतले अभिभावकको भूमिका निर्वाह गर्नुभयो, हामीलाई हौसला प्रदान गर्नुभयो । ’ कर कार्यालयमा पहिला भन्दा अहिले सेवा लिन सहज भएको उनको भनाइ थियो ।
आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत उद्वव अधिकारीले आफैलाई अफ्ठयारो नपर्ने गरी काम गर्नुपर्ने बताए । उनले बारम्बार सोध्ने प्रश्नमा अपडेट हुनुपर्ने बताए ।
संगठनका निवर्तमान अध्यक्ष तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले लकडाउनको समयमा संगठनले आन्तरिक राजस्व कार्यालयसँग सहकार्य गरेर अनलाइन कर शिक्षा तालिम सञ्चालन गरेको बताए । उनले प्रमुख कर अधिकृत आचार्यले उदाहरणीय काम गर्नुभएको बताए ।
संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले समयसापेक्ष रुपमा अगाडि बढ्नुपर्ने बताए । उनले आगामी दिनमा आन्तरिक राजस्व कार्यालयसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
संगठनका सल्लाहकार चन्द्रमणि अधिकारी (रामु), दीपक बहादुर कुंवर, सचिवालय सदस्य एवं होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासे, उद्योग व्यापार संगठनका कोषाध्यक्ष तथा ग्यास विक्रेता संघ सिद्धार्थनगरका अध्यक्ष राम मिलन यादव, मदिरा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष केशवराज ज्ञवाली लगायतले बोल्दै प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले राज्यले दिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको बताए ।
संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij