
शुक्रवार , भाद्र १७, २०७९
बुटवल, १७ भदौ । बुटवलको प्रगतिनगरमा स्मृति पार्क निर्माण हुने भएको छ । सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै बुटवलको विकासमा केन्द्रित हुने योजनाका साथ बुटवल उपमहानगरपालिकाले बुटवल–११ मा नेपाली कांग्रेसका संस्थापक स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र बुटवलका पूर्व नगरप्रमुख स्व. सूर्यप्रसाद प्रधानको स्मृतिमा पार्क निर्माण गर्न लागेको हो ।
स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएर पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा शुक्रबार एक कार्यक्रमकाबीच नगर प्रमुख खेलराज पाण्डेयले पार्कको शिलान्यास गरेका हुन् ।
१७ कठ्ठा १४ धुरमा बन्ने पार्कमा स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र स्व. सूर्यप्रसाद प्रधानको शालिक रहने र पार्कलाई सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने नगरप्रमुख पाण्डेयले बताए । उनले बुटवललाई बुटवलबासी र सबै राजनीतिक दलको अपनत्व हुने गरी पहिचान स्थापित गर्न आवश्यक रहेकाले सहमति, सहकार्य, एकता र मेलमिलापको नीति लिएर अघि बढ्ने बताए ।
‘यो पार्कमार्फत बुटवल सबैको हो र हामी बुटवलका लागि हौं भन्ने भावना जागृत गराउनका लागि पनि यो पार्कले देशभर सन्देश दिनेछ, उनले भने–‘यहाँको विकासका निम्ति हामी सबै मिलेर अघि बढ्नु आवश्यक छ, यसले बुटवललाई देशकै उत्कृष्ट नगरको रुपमा स्थापित गर्न मदत गर्नेछ ।’
नगरप्रमुख पाण्डेयले अव्यवस्थित बसोबासी रहेको क्षेत्रनजिक बन्ने पार्कले स्थानीयलाई समेत अपनत्वको भावना जगाउने र स्थानीयले पार्कको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
‘यहाँका बासिन्दाले आफुलाई हेपिएको महसुस गर्नुपर्ने छैन, यहाँ सुन्दर पार्क बनेपछि यो नै बुटवलको रमणीय केन्द्र बन्नेछ, यहाँको महत्व बढ्नेछ भन्ने हामीलाई विश्वास छ, उनले भने–यहाँको सार्वजनिक जग्गा संरक्षण हुँदा यहाँका बासिन्दालाई लाभ हुनेछ, विपदमा खुला स्थान आवश्यक पर्दा यो पार्क उपयोगी हुनेछ ।’
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपद्का समयमा हुनसक्ने जोखिमका लागि समेत उपयोगी हुने गरी र्पाक निर्माण हुने र यसले स्थानीयलाई लाभ पुग्ने बताए । उनले पार्क निर्माण भएपछि पर्यटकीय हिसाबले पनि लाभदायी हुने र त्यसको पहिलो लाभ स्थानीयले लिने बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बुटवलबाट सहमति र सहकार्यको सुरुवात भएको र यसले देशभर सकारात्मक सन्देश फैलाउने बताए । उनले बुटवलले सार्वजनिक जग्गा संरक्षण र सौन्दर्यीकरणमा चासो दिदै पार्कहरु निर्माण गर्न लागेकोमा खुशी व्यक्त गरे ।
गत जेठ २५ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि शालिकसहितको पार्क निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन भएको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij