शुक्रवार , भाद्र १७, २०७९
बुटवल, १६ भदौ ।
नेपाल पत्रकार महासंघको आफ्नो दस्तावेजमा संस्थापक अध्यक्षको बारेमा उल्लेख गरेको गलत विवरण सच्याउन माग गर्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ । फोनिजले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष रहेको तथ्यलाई स्थापित गर्न माग गरेको हो । फोनिजको केन्द्रीय कार्यक्रम अन्तरगत रुपन्देही शाखाले बिहिबार नेपाल पत्रकार महासंघ रुपन्देही शाखामार्फत महासंघको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुन् भन्ने तथ्य विभिन्न दस्तावेजहरुले पुष्टि गरेको भएपनि नेपाल पत्रकार महासंघले कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको प्रति फोनिजको विमति रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा गलत विवरण सच्याई नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुन् भन्ने तथ्यलाई स्थापित गराउन माग गरिएको छ । ‘नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्रमार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गर्दछौं’ ज्ञापनपत्रमा उल्लेख छ । हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुख समेत हुन् ।
२००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनैलाई महासंघको संस्थापक अध्यक्ष मान्नुपर्ने फोनिजको माग छ । ९ वैशाख २००८ मा सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरिएको र २८ बैसाख २००९ मा पुर्नगठन गरेको इतिहास रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । तर १६ चैत २०१२ मा पुर्नगठन हुँदा मात्र कृष्णप्रसाद उपाध्याय भट्टराई अध्यक्ष बनेको तथ्यले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक अध्यक्ष पुष्टि भईसकेको अवस्थामा महासंघले भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको उल्लेख ज्ञापनपत्र छ ।
ज्ञापनपत्र बुझाउँदै फोनिज रुपन्देहीका अध्यक्ष सनु थापाले पहिलो पटक नेपालका पत्रकारलाई संगठित गर्ने सत्यनारायण बहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु गलत रहेको उल्लेख गर्दै माग सम्बोधनका लागि पहल गर्न आग्रह गरेका छन् ।
पत्रकार महासंघको कार्यालयमा ज्ञापनपत्र बुझ्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले ज्ञापनपत्र तत्काल केन्द्रिय कार्यालयमा पठाएर फोनिजको माग सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाए । उनले नेपाल पत्रकार महासंघ केन्द्रले घोषणा गरेर पठाएमा आफुहरु कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए । फोनिजले ज्ञापनपत्रसँगै नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको तस्वीर समेत बुझाएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij