
बुधवार , भाद्र १५, २०७९
भैरहवा, १५ भदौ ।
भैरहवास्थित भीम अस्पताल विकास समितिका अध्यक्ष कुलप्रसाद न्यौपानेले अस्पतालमा अभिभावकको भूमिका निर्वाह गर्ने अवसर पाएको बताएका छन् । उनले बजेटको अभाव लगायतका कारण सोचेअनुरुप सबै काम गर्न नसकेको बताए ।
बुधबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले भने, ‘खुसीका साथ भन्छु जति दिन अध्यक्षको जिम्मेवारी सम्हाले, अस्पतालको विकासमा लागे तर चाहे जतिको काम गर्न सकिन ।’ उनले २०७८ फागुन २३ गते पदभार गरेपश्चात अध्यक्षको रुपमा काम गरिरहँदा अस्पताल प्रशासन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, स्वास्थ्य मन्त्रालय लगायतबाट अत्यन्तै सहयोग पाएको बताए । न्यौपानेले भने, ‘हामी सहकार्य गर्दै अघि बढ्यौं, सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । ’ प्रजातान्त्रिक मूल्य मान्यतालाई ध्यानमा राख्दै र प्रदेश सरकारलाई सम्मान गर्दै पद छोड्नुपर्ने अवस्था आएकोले बुधबार (आजदेखि) विदा लिएको उनले बताए ।
न्यौपानेले आफू करिब साढे ५ महिना अस्पताल विकास समितिको अध्यक्षको रुपमा रहेको र सो अवधिमा विभिन्न काम अगाडि बढाएको बताए । उनले भने, ‘सीमित कर्मचारीहरुबाट बढी सेवा प्रवाहका लागि डाक्टर, नर्स तथा अन्य कर्मचारीसँग बैठक, छलफलद्वारा उत्पे्ररित गराइ सेवा प्रवाहमा सुधार गरिएको छ, सरसफाई अस्पतालको अभिन्न काम भएकोले अस्तव्यस्त शौचालयको पुर्ननिर्माण गरी सेवा प्रवाह तथा दुर्गन्ध नहोस् भनी नाला निर्माण गरी सेवा प्रवाह गरिएको छ ।’
न्यौपानेले आन्तरिक आयवृद्धि गर्नका लागि स्वास्थ्य बीमालाई प्रभावकारी बनाइएको, सटर टेण्डर तथा आगामी वर्षमा गरिने कामहरुलाई व्यवस्थित गरिएको बताए । उनले विशेषज्ञ सेवा प्रवाहका लागि विशेषज्ञ डाक्टर राख्नका लागि बजेट छुट्याइएको र अस्पतालको सेवा प्रवाहमा थप स्वास्थ्य उपकरण तथा जनशक्ति आवश्यक पर्ने हुँदा प्रदेश सरकारसँग माग गरिएको केही उपकरण तथा जनशक्तिको लागि बजेट प्राप्त भएको जानकारी दिए ।
उनले भने, ‘अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन गर्न तथा पार्किङ निर्माणका लागि सिद्धार्थनगर नगरपालिकामार्फत प्राप्त हुने रकम नगरपालिकाले छुट्याएको अवस्था छ, उक्त रकम जिल्ला समन्वय समितिबाट अस्पतालाई १ करोड प्राप्त भएको छ । ‘ लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानद्वारा निर्माण गरिएको इमरजेन्सी भवन निर्माण गर्न विशेष पहल गरेको उनको भनाइ छ । उनले पटकपटक कर्मचारी आन्दोलित हुँदा अस्पतालमा आउने सेवाग्राहीहरुलाई असर नपरोस् भनी कर्मचारीहरुसँग पटकपटक छलफल गरी अस्पतालको सेवा प्रवाह बन्द हुन नदिइएको बताए । त्यस्तै नाक, कान, घाँटी र छालासम्बन्धी सेवा २०७९ साउनदेखि सुरुवात भएको र सिटीस्कयान मेशिन जडान हुने क्रममा रहेको उनले जानकारी दिए ।
भीम अस्पताल विकास समितिका तत्कालिन अध्यक्ष एकराज विश्वकर्माको कार्यकालमा आफू पदेन सदस्यको रुपमा रहेको समितिले जिल्ला समन्वय समिति रुपन्देहीको सहयोगमा अस्पतालको डीपीआर तयार पारिएको र सोही डीपीआरको आधारमा शहरी विकास मन्त्रालयद्वारा विनियोजित बजेटबाट आधुनिक प्रसुती भवन निर्माण भइरहेको उनले बताए । उनले यस अघिका अध्यक्ष नारायण प्रसाद भण्डारीमा पद नभइ बस्न नसक्ने र अरुलाई दुःख दिने खालको मानसिकता रहेको आरोप लगाए ।
अस्पतालकी मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले अस्पताललाई अगाडि बढाउन अध्यक्ष न्यौपानेसँग सहकार्य गरेको बताइन् ।
तत्कालीन भीम अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीलाई हटाएर लुम्बिनी प्रदेश सरकारले २०७८ फागुन २३ गते न्यौपानेलाई अध्यक्ष नियुक्ति गरेको थियो । तर, तीन वर्षको कार्यकालका लागि नियुक्त भए पनि समयावधि रहँदै आफूलाई हटाइएको भन्दै भण्डारी सर्वोच्च अदालत पुगेका थिए । अदालतले भण्डारीलाई अध्यक्षमा यथावत राख्न आदेश दिएपछि न्यौपानेले अध्यक्ष पद छाडेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij