२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

सीमा नाका बेलहियामा सडक अतिक्रमण हटाइयो

सोमवार , भाद्र १३, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, १३ भदौ ।
    स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका क्षेत्रमा सडक अतिक्रमण गरी राखिएका ठेला गाडा, ट्यांकी, टहरा लगायतका संरचना हटाइएको छ । प्रहरीको समन्वयमा बेलहिया नाका क्षेत्रको सौन्दर्यकरणको अन्तर्गत सडक सीमाभित्र सार्वजनिक हित प्रतिकूल हुने गरी राखिएका संरचनाहरु हटाइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । सडक अतिक्रमण खाली गराइएपछि बेलहिया सडक क्षेत्रमा पैदलयात्रु, सवारी साधन आवागमनमा सहजता समेत आएको पौड्यालले बताए ।

    सडक अतिक्रमणले सडक साँघुरिदै गएको र सवारी दुर्घटनाको जोखिम समेत रहेकोले सडक अतिक्रमणमा समन्वय गरिएको प्रहरीले जनाएको छ । गत साउन १७ गते सडक अतिक्रमण गरी राखिएका/बनाइएका संरचनाहरु हटाउन सूचना गरिए पनि २८ दिनसम्म सूचनालाई अटेर गरेपश्चात उक्त संरचनाहरु सोमबार हटाइएको छ ।

    बेलहियाको सौन्दर्यकरणका लागि हाल बसस्टप रहेको स्थानमा ६ तल्ले अन्डरग्राउन्ड पार्किङसहितको व्यवसायिक भवन निर्माण गर्ने लगायत नगरपालिकाको योजना छ । त्यस्तै ठूल्ठूला विद्युतीय लाईट जडान गर्नका लागि नगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता समेत भइसकेको र छिट्टै नै काम सुरु हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए ।

    ‘बेलहियाबाट लाखौं पर्यटक भित्रिन्छन् तर स्थान पर्यटकमैत्री देखिएको छैन, जसले गर्दा पर्यटकहरुमा नकारात्मक सन्देश गइरहेको छ’ उनले भने, ’नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने कार्य अन्तरगत प्रकिया अघि बढाइएको हो ।’
    सडक सबैको साझा भएकोले यसको संरक्षणमा सरोकारवालाहरु एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ ।

    बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजना कार्यालय अन्तरगत निर्माणधिन अवस्थामा बेलहिया सडक ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा नगरपालिकाले योजना सञ्चालन गर्न सकेको छैन । ‘हामीले ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयहरुलाई छिट्टै नै सडक निर्माण गर्न पटकपटक आग्रह गरिरहेका छौं’ नगरप्रमुख खानले भने, ‘तर, बेलहियाको निर्माणाधिन सडक आयोजना नगरपालिका कार्यालय मातहत नहुँदा हामीले नगरपालिकाबाट कुनै किसिमको कारवाही प्रकिया अघि बढाउन सकेका छैनौं ।’उनले थपे, ‘पर्यटक भित्रिने बेलिहयाले नगर/मुलुक अवस्था दर्शाउने भएकोले बेलहियाको सौन्दर्यकरण जरुरी देखिएको छ । जसमा बेलिहया र नगरवासीको साथ/सहयोगको समेत आवश्यकता छ ।’