
आइतवार , भाद्र १२, २०७९
तिलोत्तमा, १२ भदौ ।
गुल्मी जोहाङ रुपन्देही सम्पर्क समाजले हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजका ज्येष्ठ नागरिक सम्मान तथा तीज मिलन कार्यक्रम गरेको छ । गुल्मीको साविक जोहाङ गाउं विकास समिति (हाल सत्यवती गाउँपालिका)बाट बसाईसराई गरी रुपन्देहीका विभिन्न ठाउँमा स्थायी तथा अस्थायी बसोवास गर्ने जोहाङवासीहरुलाई एकजुट गर्ने र समाजका सदस्यहरुको सुखदुखमा साथ दिने उद्देश्यले गठन गरिएको समाजले विभिन्न सामाजिक र रचनात्मक काम समेत गर्दै आएको छ ।
तीजको अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनवाटिकामा शनिबार आयोजित तीज मिलन तथा सम्मान कार्यक्रममा समाजका ३० जना ज्येष्ठ नागरिक र समाजले गरेका समाजिक तथा रचनात्मक कार्यका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
समाजले समाज गठन भएको छोटो समयमै समाजका सदस्यहरुवाट आर्थिक सहयोग संकलन गरी शंकरनगर वनवाटिका परिसरमा करिव १३ लाखको लागतमा जोहाङ समाज (पौवा) सेड समेत निर्माण गरेको छ । समाजले सोही ठाउँमा वनवाटिका घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सुविधा र मनोरञ्जनलाई ध्यानमा राखेर सुविधायुक्त शौचालय र टिकटक जोन निर्माणको तयारीमा रहेको समाजका संरक्षक मोतिलाल भण्डारीले जानकारी दिए ।
समाजले तीज मिलनकै अवसरमा समाजद्वारा निर्मित जोहाङ समाज (सेड) पौवाको उद्घाटन गरी सोही सेडमा समाजले तीज मिलन र सम्मान कार्यक्रम गरेको हो ।
नवनिर्मित भवनको १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले उद्घाटन गरे । सो अवसरमा उनले मानिस जो जहाँ रहे पनि आफ्नो संस्कार र संस्कृतिलाई भुल्न नहुने बताए । उनले संस्कार र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने अभियान अन्तर्गत गुल्मी जोहाङ रुपन्देही सम्पर्क समाजले कुशे औंशीको अवसरमा तीज मिलन र ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्नुका साथै वाटिका घुम्न आउने पर्यटकको सुविधाका लागि सेड समेत निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै समाजको प्रशंसा गरे ।
समाजका अध्यक्ष फर्सुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सत्यवती गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णु प्रसाद भण्डारीले मानिस जो जहाँ रहे पनि जन्मभूमिको सम्झना सदा रहिरहने बताए । उनले कूल पूजा लगायतका विशेष अवसरमा गाउँ फर्केर आफ्नो जन्मभूमिप्रतिको माया ममतालाई पुनर्ताजगी गर्न बसाईसराई गरी रुपन्देही आएका जोहाङवासीलाई आग्रह गरे ।
समाजका संरक्षक मोतिलाल भण्डारी, उपाध्यक्ष एवं तीज मिलन कार्यक्रमका संयोजक ईश्वरी भण्डारी लगायतले बोल्दै समाज विशुद्ध सामाजिक उद्देश्यले स्थापना गरिएकाले सबै जोहाङवासीलाई समाजमा आवद्ध भएर सामाजिक अभियानमा जुट्न आग्रह गरे ।
सो अवसरमा रमाइलो नाचगानसहित एकआपसमा शुभकामना आदानप्रदान गर्नुका साथै समाजले सहभागीहरुलाई तीजको दर पनि खुवाएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij