२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोटरी क्लबहरुको संयुक्त छलफल

शनिवार , भाद्र ११, २०७९

बुटवल, ११ भदौ ।
रोटरी क्लब अफ बुटवलको १४ सय २९ औं नियमित एवं वर्ष २०२२÷२३ को १० औं बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा बिजनेश रहेको थियो । क्लवले शनिबार आफूले स्पोन्सर गरेका क्लबहरुसँग संयुक्त रुपमा इन्टरसिटी बैठकको आयोजना गरेको हो ।

बैठकमा चारवटा रोटरी क्लबका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । बैठकमा रोटरी क्लब अफ बुटवल डाउनटाउन, रोटरी क्लब अफ बुटवल साउथ, रोटरी क्लब अफ कपिलवस्तु चन्द्रौटा र रोटरी क्लब अफ रुपन्देही तिलोत्तमाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाले विभिन्न क्लबहरुले अगाडि सारेका योजना, कार्यक्रम तथा सामाजिक क्षेत्रमा गरेका विभिन्न गतिविधिहरुका साथै एक अर्काको अनुभव आदानप्रदान गर्न संयुक्त बैठक आयोजना गरिएको बताए ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष भरत बहादुर रानाले आगामी दिनमा पनि संयुक्त बैठकहरु गर्न सके रोटरीले सञ्चालन गर्ने प्रोजेक्टका साथै अन्य कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिने बताए ।

रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष टंकनाथ अधिकारीले क्लवले गरेका कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए । त्यस्तै रोटरी क्लब अफ कपिलवसतु चन्द्रौटाका अध्यक्ष हेमराज शर्माले क्लबले गर्ने कार्यक्रम र सञ्चालन गर्ने योजनाहरुमा रोटरीयनहरुको सक्रियता बढाउन आवश्यक देखिएको भन्दै यस्ता संयुक्त बैठक यसका लागि समेत फलदायी हुने बताए । 
उनले ग्लोबल ग्रान्टमा अझै आफ्नो क्लबले आवेदन पेश नगरेको भन्दै अब भने यसको तयारीमा रहेको र सहयोग गर्न रोटरी क्लब अफ बुटवललाई आग्रह गरे ।

रोटरी क्लब अफ रुपन्देही तिलोत्तमाका सचिव थानेश्वर चापागाईंले तिलोत्तमामा फोह व्यवस्थापनको योजनाबारे जानकारी गराउँदै सबैलाई समेटेर अगाडि बढ्न सकेमा रोटरी क्लवले पनि यस्ता योजनामा सफलता हासिल गर्न सक्ने बताए ।

बैठकमा रोटरी क्लब अफ बुटवलका पुर्व अध्यक्ष एवं डिआरएफसी राजेन्द्र लम्साल, क्लव मेन्टर हरिप्रसाद पौडेल, अन्य रोटरीयनहरु मणिरत्न पाण्डे, लालहरि पाण्डे, वसन्त थापा लगायतले क्लबले विभिन्न प्रोजेक्ट सञ्चालनका साथै सामाजिक गतिविधि जारी राख्न सके मात्रै सामाजिक छवि उचो राख्न सकिने बताएका थिए ।