शुक्रवार , भाद्र १०, २०७९
भैरहवा, १० भदौ ।
आस्था महिला उद्यमी संघको आयोजनामा तीज गीत प्रतियोगिता तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । उद्योग व्यापार संगठन, रुपन्देहीको मातहतमा स्थापित संघले व्यापार संगठनको सभाहलमा महिला हिंसा विषयमा प्रतियोगिता आयोजना गरेको थियो । विभिन्न ७ समूहको सहभागी रहेको प्रतियोगितामा सक्षम सहारा बहुउद्देश्यीय महिला समूह प्रथम हुन सफल भएको थियो भने सुपा देउराली दिदीबहिनी समूह द्वितीय हुन सफल भएको थियो । त्यस्तै प्रतियोगिताको तृतीय स्थानमा दिपज्योती आमा समूह रहेको थियो भने सत्यवती आमा समूह सान्त्वना स्थानमा आउन सफल भएको कार्यक्रम संयोजक मिनिता थापाले बताइन् । विजेता सम्पूर्णलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।
यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पछिल्लो समय मानिसहरुको सबै कुरामा परिवर्तन भएर पनि आप्mनो सोच परिवर्तन गर्न नसक्दा महिला हिंसाका घटनामा कमी नआएको बताइन् । उनले पुरुषलाई दोष दिनु भन्दा पनि महिला आफैले रुढीवादी परम्पराबाट बाहिर निस्कन नसक्दा पछाडि परेको उपप्रमुख अधिकारीले बताइन् । उनले भनिन्, ‘हामी अब आफ्नो सोच र व्यवहार परिवर्तन गर्न गाह्रो हुन सक्छ तर हामीले हाम्रा छोरीबेटीको लागि पुरानो परम्पराबाट बाहिर निकाल्नुपर्छ । पछिल्लो समय हामी रमाउन पाउँदैमा परिवर्तन भएको सम्झियौं तर आफू आत्मनिर्भर बन्नतिर लागेनौं त्यसैले पनि हामी हेपिएका हौं, राज्यले दिएका अधिकार र सुविधाकोसम्म हामीले उपभोग गर्न ध्यान दिएनौं ।’ सिद्धार्थनगर नगरपालिकाबाट उपलब्ध गराउनुपर्ने सहयोगको लागि नगरपालिका सधै तयार रहेको समेत उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले महिलाको नेतृत्व र व्यक्तित्व विकास होस भन्ने उद्देश्यले व्यापार संगठनको मातहतमा महिला उद्यमी संघ गठन गरिएको बताउँदै त्यसको उद्देश्यअनुसार महिलाहरु अगाडी बढेकोमा खुसी व्यक्त गरे ।
विशिष्ट अतिथि उद्योग व्यापार संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले महिलाहरु आत्मनिर्भर बन्नतर्फ लाग्न सके महिला हिंसाका घटनामा केही कमी आउने बताए । स–साना उद्यम जस्तै : घरेलु हस्तकला, चुरा, पोते, अचार लगायतको व्यवसायबाट पनि महिलाले थुप्रै प्रगति गर्न सक्ने भन्दै भण्डारीले त्यसो हुन सके महिला हिंसामा कमी हुने बताए ।
कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठनका पूर्व अध्यक्ष खिम बहादुर खत्रीले होटल रेष्टुरेण्टमा गएर दर खानुको साटो संगठनकै हलमा संस्कृतिको जगेर्ना गर्ने हेतुले प्रतियोगिता आयोजना गर्नु सराहनीय कार्य भएको बताए ।
महिला उद्यमी उशाकिरण गुरुङले पहिलेको तुलनामा महिलाहरुमा धेरै परिवर्तन आएको बताइन् । महिलाहरु अगाडि बढ्न परिवर्तन आफैबाट गर्नु जरुरी रहेको समेत उनको भनाइ थियो ।
संस्थाका अध्यक्ष विन्दु न्यौपानेको अध्यक्षता तथा सचिव लक्ष्मी अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रमको समापन उपाध्यक्ष माया खनालले गरेकी थिइन् । कार्यक्रममा कलाकार बसन्त लम्सालले आफ्नो प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थालाई विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्तिहरुलाई प्रशंसापत्रले सम्मान समेत गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij