२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

तिलोत्तमा–६ मा तीज गीत प्रतियोगिता सम्पन्न

बिहिवार , भाद्र ९, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • तिलोत्तमा, ९ भदौ ।
    हरितालिका तीजको अवसर पारेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को आयोजनामा बुधवार सभ्य समाज निर्माणमा महिलाको भुमिका विषयक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । वडाभित्रका आमा समूहबीचको प्रतिष्पर्धामा कालिका दिदीबहिनी आमा समूह प्रथम, तिलोत्तमा आमा समूह द्वितीय र चरित्र ज्योती नारी जागरण आमा समूह तृतीय भएको वडा नम्बर ६ का प्रतिनिधि देवी न्यौपानेले जानकारी दिए । 

    प्रतियोगितामा नमूना आमा समुहले सान्त्वना स्थान हासिल गरेको र उत्कृष्ट नृत्य मार्फत मगर महिला एकता समाज पुरस्कृत भएको उनले बताए । प्रतियोगितामा प्रथम हुनेले रु. १२ हजार, द्वितीयले रु. १० हजार, तृतीयले रु. ८ हजार, सान्त्वनाले १ हजार र उत्कृष्ट नृत्य गर्ने समूहले १ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए । वडाले छुट्याएको पुरस्कारमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले व्यक्तिगत रुपमा ५/५ हजार थपेर प्रदान गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख रामकृष्ण खाँणले महिला दिदीबहिनीका लागि रमाइलो चाडपर्वका रुपमा आउने तीजले जागरुकता समेत ल्याएको बताए । उनले रिह र रिक्त मात्र नभई महिला अघि बढ्ने अवसरका विषयमा पनि तीजका भाका गाइनुपर्ने बताए । स्थानीय, प्रदेश र संघीय सरकारका पदाधिकारीमा रहेका महिलाले अन्य महिलालाई अघि बढ्न हौसला दिएका खबर खुसीका खबर हुन्, उनले भने, ‘तीजका भाकामा महिलाको अघि बढ्ने सम्भाव्यता तथा आफूहरुको क्षमताका विषयमा समेत टुक्का भरिनुपर्छ । ’ खाँणले तीज मात्र नभइ अन्य बेलामा पनि वडाले महिला जागरणका कार्यक्रम ल्याइ स्ववालम्बी बनाउन सघाउनुपर्ने जनाए ।

    received_439790681512772.jpeg

    त्यस्तै वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले निर्वाचनका बेलामा महिला दिदीबहिनीले खेलेको भूमिका अपरिहार्य रहेको बताए । उनले वडामा जनप्रतिनिधि आएपछि स्थानियलाई चाडपर्व होस् वा दुःख पीडा रहेका बेलामा साथ दिने गरी काम गर्ने प्रयास गरिरहेको बताए । हामीले बजेट छुट्याएर सक्ने जति काम गर्न तयार छौं, उनले भने, ‘महिला दिदीबहिनी अघि बढे घर परिवार र समाज नै अघि बढ्छ, जसका लागि महिला दिदीबहिनीलाई प्रखर बनाउन जरुरी छ ।’ कोपिला काफ्लेको सञ्चालनमा सम्पन्न प्रतियोगितामा वडाभरीका गरी १४ आमा समूहले सहभागिता जनाएका थिए ।