२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

रुपन्देहीका फर्निचर उद्योगीको गुनासो : उद्योग सञ्चालन गर्ने वातावरण छैन

बिहिवार , भाद्र ९, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • रुपन्देही, ९ भदौ । 
    रुपन्देहीका फर्निचर उद्योगीहरुले भारतीय घुमन्ते कामदारका कारण नेपाली उद्योगी व्यवसायी मारमा परेको गुनासो गरेका छन् । भारतीय घुमन्ते कामदारका कारण उद्योग व्यवसाय सञ्चालन गर्न समस्या परेको भन्दै उनीहरुले यस्ता कामदारलाई निरुत्साहित गर्ने गरी फर्निचर संघले अनुगमन लगायतका कार्यलाई प्रभावकारी ढंगले अगाडी बढाउनुपर्ने सुझाव दिएका छन् ।
    भारतीय कामदारका कारण एकातिर नेपाली पुँजी विदेश पलायन हुनुका साथै सरकारको राजश्व असुलीमा समस्या परेको छ भने अर्कोतर्फ करको दायरामा रहेर सञ्चालित उद्योगहरु काम गर्ने वातावरण नभएर बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनीहरुको गुनासो छ । 

    बुटवल फर्निचर उद्योग संघ रुपन्देही मातहत गठित अनुगमन उपसमिति तिलोत्तमा नगर समितिले बुधबार आयोजना गरेको समीक्षा तथा बृहत भेलामा बोल्दै संघका जिल्ला उपाध्यक्ष तेज प्रसाद पराजुलीले भारतीय घुमन्ते कामदारका कारण नेपाली उद्योग फष्टाउन नसकेको बताउँदै भारतीय कामदारलाई निरुत्साहित गर्ने नीति सरकारले लिनुपर्नेमा व्यवसायी आफै अगाडी बढ्नुपरेको  बताए । उनले बिना दर्ता सञ्चालनमा रहेका उद्योगहरुलाई पनि कानूनी दायरामा ल्याएर दर्ता गर्नुपर्नेमा जोड दिए ।

    संघका पूर्व अध्यक्ष विष्णु श्रेष्ठले नेपालमा दक्ष कामदारको अभाव, फर्निचरमा उद्योगमैत्री वातावरणको अभाव, उद्योग स्थापनाका लागि जग्गाको अभाव तथा उद्योग स्थापना भइ सञ्चालन भइरहेका उद्योगहरु वस्ती विकासको चपेटामा परी बन्द गर्नुपर्ने लगायतका समस्या उद्योगीहरुले व्यहोर्नुपरेका कारण उद्योगहरुले गति लिन नसकेको बताए । उनले यस्ता समस्या समाधान हुने गरी नीतिगत व्यवस्था गर्न सरकारसंग आग्रह गरे । 

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शाखा अधिकृत कृष्णप्रसाद पाण्डेले फर्निचर उद्योगी व्यवसायीका समस्या समाधानका लागि नगरपालिका सधै उद्योगी व्यवसायीको पक्षमा रहने बताए । उनले नगरपालिकाले उद्योगमैत्री नीति अवलम्वन गरेको भन्दै गैर व्यवसायीलाई कानुनी दायरामा ल्याउन र उद्योगी ब्यवसायीलाई परेका समस्या समाधानका लागि नगरपालिका फर्निचर उद्योग संघसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

    अनुगमन उपसमिति तिलोत्तमा नगर समितिका संयोजक लिलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने व्यवसायीहरुले कामदारको अभाव, उद्योगमैत्री वातावरण नहुनु, दर्ता गरेर सञ्चालन गरेका उद्योगको आसपासमा बस्तीको विकास हुने र त्यही वस्तीका कारण उद्योग विस्थापित हुनुपर्ने समस्याका कारण उद्योगीहरु उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको धारणा राखेका थिए ।

    कार्यक्रममा फर्निचर संघका जिल्ला कोषाध्यक्ष नेत्र रुचाल, तिलोत्तमा अनुगमन उप समितिका सहसंयोजक विनोद न्यौपाने, अनुगमन समितिका सदस्यहरु प्रकाश न्यौपाने, डिल्लीराज गौतम, खिम खड्का, गोविन्द श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, मेघराज ज्ञवाली लगायतले घुमन्ते कामदारलाई निरुत्साहित गरी स्वदेशी उद्योग सञ्चालन गर्ने वातावरण निर्माणका लागि स्थानीय सरकारले सहयोग गनुपर्ने धारणा राखेका थिए ।

    भेलाले उद्योगीहरुले कानूनी र व्यवहारिक रुपमा व्यहोर्नुपरेका समस्या समाधान र भारतीय घुमन्ते कामदारलाई कानुनको दायरामा ल्याउन तथा कानूनको दायरामा नआउने कामदारलाई निरुत्साहित गर्ने उद्देश्यले स्थानीय पालिकाका जनप्रतिनिधि र नगर प्रहरीलाई साथमा लिएर वडा तथा पालिकास्तरमा अनुगमन गर्ने कार्यलाई तीव्रता दिने प्रस्ताव पारित गरेको तिलोत्तमा अनुगमन उपसमितिका सह–संयोजक विनोद न्यौपानेले जानकारी गराए ।