
बिहिवार , भाद्र ९, २०७९
रुपन्देही, ९ भदौ ।
रुपन्देहीको तिलोत्तमा नगरपालि–५ मा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले अटिजम विद्यालय सञ्चालनमा ल्याएको छ । बुधबार लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले अटिजम भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खाँले अटिजम भएका बालबालिकाहरुलाई उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचारको आवश्यक व्यवस्था मिलाउन मन्त्रालय तयार रहेको बताए ।
मन्त्री खाँले पुनस्र्थापनाबाट सामान्य अवस्थामा ल्याउनको लागि शान्ति नमूनाले चालेको कदमप्रति प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बालबालिकाको जीवन सहज बनाउनको लागि चाहिने स्रोतसाधनको लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।
त्यस्तै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले अटिजमलाई समयमै चिन्न वा पत्ता लगाउन सकेमा नियन्त्रणका लागि कदम चाल्न सजिलो हुने बताए । पछिल्लो समयमा आमाबुवाको व्यस्त जीवनशैलीका कारण बालबालिकालाई भुलाउने क्रममा दिइने मोबाइलका कारण पनि अटिजम हुने गरेको उनले बताए ।
अटिजम केयर सोसाईटी लुम्बिनीका अध्यक्ष सतिस रुपाखेतीले अटिजम आफैमा विशेष अवस्था भएको बताए । हेर्दा सामान्य देखिने बालबालिकाहरुमा समेत अटिजमको समस्या हुने भन्दै उनले लामो समयको घुलमिलपछि मात्र समस्या थाहा पाउन सकिने जानकारी दिए ।
शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले नेपालमै पहिलो अटिजम विद्यालय सञ्चालन गर्न लागेको बताउदै बालबालिकालाई विशेष प्रकारको शिक्षा दिनुका साथै समायोजन तथा सामाजिकीकरणका तालिम दिँदै पुनस्र्थापनाका कार्यक्रमहरु चलाइने उल्लेख गरे । उनले त्यसका लागि आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराइदिन स्थानीय तह र प्रदेश सरकारसंग आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनालले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij