images

मंगलवार, बैशाख १८ गते २०८१

मतदाता दावी विरोध भदौ १२ देखि १९ गतेसम्म

मतदाता दावी विरोध भदौ १२ देखि १९ गतेसम्म

images
images
images
बिहिवार, भाद्र ९ २०७९
बिहिवार, भाद्र ९ २०७९
  • मतदाता दावी विरोध भदौ १२ देखि १९ गतेसम्म

    भैरहवा, ९ भदौ ।
    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले निर्वाचन कार्यक्रम अघि बढाएको छ । सोही क्रममा मतदाता नामावली अद्यावधिक तथा दावी विरोधको कार्यक्रम भदौ १२ देखि भदौ १९ गतेसम्म सञ्चालन गरिने निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

    images

    आयोगले तयार गरेको फोटोसहितको मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्नको लागि सहज पहुँच प्रदान गर्ने, मतदाता नामावलीमा दोहोरो नाम परेका मतदाताको विवरण हटाउने एवं त्रुटीहरू सच्याउने, निर्वाचनको घोषणा भएको मितिसम्म संकलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्ने र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनको लागि अद्यावधिक मतदाता नामावली तयार गर्ने कार्यक्रमको उद्देश्य रहेको जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले बताए । मतदाता नामावली सूचना प्रकाशन भदौ १२ गतेसम्म प्रमुख नाम दर्ता अधिकारीले गर्ने उनले बताए । जिल्ला सदरमुकामस्थित स्थानीय तह, मालपोत, नापी, जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयमा सूचना टाँस गर्ने व्यवस्था गरिने भण्डारीले जानकारी दिए । सबै स्थानीय तहको वडा कार्यालयमा भदौ १२ गतेसम्म मतदाता नामावली प्रकाशन गर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ ।

    भण्डारीकाअनुसार आगामी मंसिर ३ गतेसम्ममा १८ वर्ष उमेर पुरा भएका मतदाताहरूको नामावली समावेश गरी तयार पारिएको अन्तिम मतदाता नामावली प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा प्रकाशन गरिनेछ । मृत्यु भएका, बसाईसराई गरी अन्यत्र गएका वा मतदाता नामावलीमा दोहोरो नाम परेका मतदाताको विवरण हटाउने तथा त्रुटी सच्याउन सकिने भएकाले सम्बन्धित वडा कार्यालयमा पुगेर त्रुटी सच्याउन उनले आग्रह गरे । 

    जिल्लाबाट आयोगमा विवरण प्राप्त भएपछि विवरण अद्यावधिक गरी एक भन्दा बढी स्थानबाट नाम दर्ता गराएको वा एक भन्दा बढी पटक दर्ता गराएको फेला परेमा पछिल्लोपटक दर्ता गरेको नाम कायम गरिने उनले बताए । कुनै मतदाता बसाई सराई गएको, मृत्यु भएको, नागरिकता त्याग वा रद्द भएको व्यवहोरा प्रमाणित भएमा त्यस्तो मतदाताको नाम नामावलीबाट हटाइने भण्डारीले जानकारी दिए । 

    निर्वाचन अधिकारी भण्डारीले भने, ‘दोहोरो फेला परी हटाइएका मतदाताको छुट्टै विवरण तयार गरी अभिलेख राखिनेछ र आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीको विवरण आयोगको वेवसाइटमा प्रकाशन गरिनेछ ।’ मतदाता नामावलीमा भएको त्रुटी सच्याउने प्रयोजनका लागि पनि दावी विरोधको कार्यक्रम अगाडी बढ्ने उनले बताए । 

    रुपन्देहीमा स्थानीय तहको निर्वाचन अघि (२०७९ वैशाख २९ गतेसम्म) १८ वर्ष उमेर पुरा भएका ३ लाख २३ हजार ७ सय ७८ पुरुष, ३ लाख ८ हजार ५ सय ७४ महिला र ८ जना तेस्रोलिंगी गरी ६ लाख ३२ हजार ३ सय ६० मतदाता रहेका थिए । 
    त्यस्तै मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुरा भएका ३ लाख ३१ हजार ६ सय ६२ पुरुष, ३ लाख १५ हजार ८ सय २ महिला र ८ अन्यसहित रुपन्देहीमा ६ लाख ४७ हजार ४ सय ८२ मतदाता पुगेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

    स्थानीय तहको निर्वाचनमा २०८ मतदानस्थल र ७ सय वटा मतदान केन्द्र रहेकोमा आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि रुपन्देहीमा मतदानस्थल २०८ वटा र ७१७ वटा मतदान केन्द्र (अनुमानित) रहने निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । उनले जिल्लाका ८ वटा मतदानस्थल परिवर्तन गरी अन्यत्र सार्न आगोगमा सिफारिस गरिएको बताए । उनले भने, ‘एउटै वडाभित्र दुईवटा मतदानस्थल छ भने आफूलाई पायक पर्ने मतदानस्थलमा मतदाता नामावली सार्न पाइन्छ तर अर्को वडामा मतदाता नामावली सार्न पाइँदैन ।’उनले मतदाता नामावली निर्वाचनको लागि मेरुदण्ड भएको बताए । उनले भने, ‘मतदाता नामावलीका आधारमा सबै व्यवस्थापन हुने गर्छ, मतदानस्थलमा व्यवस्थापनका लागि पनि मतदाता नामावली चुस्तदुरुस्त हुनुपर्छ । ’ मृत्यु भएका, बसाईसराई गरी अन्यत्र गएकाहरुको मतदाता नामावलीमा रहँदा मतदाताको संख्या बढेको देखिने उनको भनाइ छ ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निर्वाचन भन्नेबित्तिकै राजनीतिक दल महत्वपूर्ण सरोकारवाला पक्ष भएकाले निर्वाचन सन्दर्भमा निर्वाचन कार्यालयले बोलाएको बैठक तथा छलफल कार्यक्रमलाई प्राथमिकता दिएर सहभागी हुन आग्रह गरे । उनले स्थानीय सरकारको मुख्य भूमिका रहेको बताए । उनले मतदाता नामावलीमा केही त्रुटी भए उजूरी गर्न सकिने कानूनी व्यवस्था रहेको बताए । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले मतदाता नामावलीलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले मतदाता नामावलीमा दोहोरिएका नाम हटाउनुपर्ने बताए । 

    रुपन्देहीमा आगामी मंसिर ४ गते ५ वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभाको लागि निर्वाचन हुँदैछ । जिल्लामा १ वटा उपमहानगरपालिका, ५ वटा नगरपालिका, १० वटा गाउँपालिकामा गरी कुल १ सय ५५ वटा वडाहरु रहेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij