२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

गोपीगंज–त्रिवेणी हुलाकी सडक निर्माणमा ढिलाइ : हिलो र धुलोले हैरानी खेप्दै यात्रु

मंगलवार , भाद्र ७, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • परासी, ७ भदौ ।

    गोपीगंज–त्रिवेणी हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा यात्रुहरुलाई सास्ती भएको छ । वर्षा हुँदा हिलाम्मे र घाम लाग्दा धुलाम्मे उक्त सडकमा यात्रा गर्न यात्रुलाई कठिनाइ भएको गुनासो गरेका छन् । त्यस्तै स्थानीयलाई पनि आवतजावतमा कठिनाइ भएको छ ।

    पश्चिम नवलपरासीको उक्त सडकका अधिकांश भाग फुटेर खाल्डाखुल्डी भएको छ भने सडकमा पानी पर्दा सडक पुरै हिलाम्मे हुने भएकाले यात्रामा निकै कठिनाइ भोग्नु परिरहेको स्थानीय युवराज मौर्यले जानकारी दिए । उक्त १५ किलोमिटर दुरीको हुलाकी सडक तल बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका हुँदै सुस्ता गाउँपालिकालाई जोडेको छ ।

    नारायणचोक (गोपीगंज) देखि रानीनगरसम्म (त्रिवेणी) कुल १५ किलोमिटरको उक्त हुलाकी सडक निर्माणका लागि बज्रगुरु महालक्ष्मी जेभी ललितपुरले ठेक्का लिएको छ । २ लेनको पीच सडक निर्माणका लागि ठेकेदार कम्पनीले भ्याटसहित ४९ करोड, ६७ लाख ६२ हजार ५४६ रुपैयाँमा ठेक्का लिएको छ ।

    सडक निर्माणका लागि ठेकेदार कम्पनीले २०७६ मंसिर १ गते सम्झौता गरी २०७९ मंसिर १ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । ठेक्काको म्याद ४ महिना भित्रै सकिन्छ तर अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र काम भएको पाइएको छ । करिब ३ वर्षको समयमा पनि ठेकेदारले काम सम्पन्न गर्न नसक्दा स्थानीयहरु सास्ती खेप्न बाध्य भएका छन् । ठेकेदारलाई समयमै काम सम्पन्न गर्न पटकपटक ताकेदा गर्नपनि खासै चाँसो नदेखाएको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए ।

    ठेकेदार कम्पनीले विभिन्न बहाना गर्दै अढाई वर्षमा जम्मा २४ वटा कल्भर्ट बनाएको छ । त्यस्तै बजार क्षेत्र बनाउनुपर्ने ढलको ८० प्रतिशत मात्र काम सम्पन्न गरेको छ भने बाँकी २० प्रतिशत गर्न बाँकी नै छ । सडक डुबान क्षेत्रमा रिटर्निङ्ग वाल र ६ किलोमिटर ग्रेवलको काम वर्षाको कारण देखाउँदै अहिले काम रोकेको छ । वर्षाले काम अवरोध भएको र अब छिट्टै काम सुरु गर्ने ठेकेदार दावा शेर्षाले जानकारी दिए ।