२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

सीमित क्षेत्रमा मात्रै ‘नो पार्किङ’ लागू गर्दा व्यवसाय प्रभावित भएको गुनासो

मंगलवार , भाद्र ७, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ७ भदौ ।
    सीमित क्षेत्रमा मात्र ‘नो पार्किङ’ लागू गर्दा आफूहरुको व्यवसाय प्रभावित भएको व्यवसायीहरुले गुनासो गरेका छन् । बुद्धचोक–लुम्बिनीगेट क्षेत्रको सर्भिस लेनमा पार्किङ गर्न नदिदा व्यवसाय प्रभावित भएको उनीहरुको भनाइ छ । व्यवसायीहरुले सोमबार सिद्धार्थनगर नगरपालिका पुगेर सीमित क्षेत्रमा मात्र पार्किङ गर्न नदिने निर्णय अन्यायपूर्ण भएको भन्दै ध्यानाकर्षण गराएका छन् । उनीहरुले नगरप्रमुख इस्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याललाई ध्यानाकर्षण गराएका हुन् ।

    स्थानीय नारायण प्रसाद भण्डारीले भने, ‘अन्य स्थानमा पनि नो पार्किङ लेखिएको बोर्ड राखिएको छ तर कार्यान्वयन भएको छैन, अन्य स्थानमा पार्किङ गर्न पाउने तर बुद्धचोक लुम्बिनी गेट क्षेत्रमा पार्किङ गर्न नपाउनु आफैमा अन्यायपूर्ण छ ।’ उनले पार्किङ गर्न नदिदा २ सय बढी व्यवसायीहरु प्रभावित भएको बताए । उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष समेत रहेका भण्डारीले ग्राहकले एकछिन गाडी रोकेर सामान खरिद गर्न नपाउनु अन्यायपूर्ण रहेको बताए । उनले भने, ‘मुख्य हाई–वे हुँदै जाने गाडी सर्भिस लेनबाट जाँदा भिडभाड देखिएको हो, व्यवसायीको सहमति बिना पार्किङ गर्न नदिने गरी पक्षपात भएको छ । ’ उनले अन्यापूर्ण निर्णय नमान्ने बताए । उनले हाई–वे मा गुड्ने गाडी सर्भिस लेनबाट गुडाउन पाइन्छ भन्दै प्रश्न गरे । भण्डारीले भने, ‘सीमित व्यवसायीमाथि अन्याय गर्न पाइँदैन ।’

    स्थानीय विष्णु मरासिनीले आफूहरुले उठाएको माग सम्बोधन नभए व्यवसाय बन्द गरेर सडक बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिए । उनले यसबारे नगरपालिकाले ध्यान दिनुपर्ने माग गरे ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले सिद्धार्थनगरलाई सुन्दर बनाउने सबैको सोच रहेको बताए । उनले ट्राफिक व्यवस्थापनको लागि जग्गाको खोजीमा रहेको बताए । नगर उपप्रमुख उमा अधिकारीले समस्या समाधानमा लाग्ने बताइन् । नगरप्रमुख इस्तियाक अहमद खानले समस्या समाधानतर्फ अगाडि बढ्ने बताए ।