२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

अवैध चोरी पैठारी नियन्त्रण गर्न राज्य गम्भिर हुनुपर्ने माग

मंगलवार , भाद्र ७, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, ७ भदौ ।
    उद्योगी व्यवसायीले खुल्ला सीमाका कारण अवैध रुपमा हुने चोरी पैठारी नियन्त्रण गर्न राज्य गम्भिर हुनुपर्ने माग गरेका छन् । भन्सार नाका व्यवस्थित नभएका खुला मार्गहरुमा थप निगरानी र नियन्त्रण गर्दै खुला सीमाबाट हुने अवैध कारोबार तथा त्यस्ता गतिविधिहरुबाट पैठारी हुने गुणस्तरहीन वस्तुको प्रयोगमा न्यूनीकरण हुनुपर्ने उनीहरुको माग छ ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र उद्योग व्यापार संगठन, रुपन्देहीले भैरहवामा संयुक्त पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले नेपाली उपभोक्ताहरुलाई संविधान प्रद्दत गुणस्तरीय वस्तु उपभोग गर्ने अधिकारको सुनिश्चितता र स्थानीय उद्योग व्यवसायको संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही र राज्यका अन्य निकायहरुबाट हुने कार्यमा सहकार्य र समन्वय गर्न तयार रहेको बताए । उनले स्वदेशमा खरिद गरी स्थानीय उद्योग र बजार प्रवद्र्धनमा सहयोग पुर्याउन आम उपभोक्तालाई आग्रह गरे । उनले भने, ‘विगत तीन वर्षदेखि कोरोनाबाट प्रभावित तथा विद्यमान प्रतिकूल आर्थिक अवस्थाका कारण स्वदेशी उद्योगी व्यवसायीहरुको व्यापार व्यवसायमा कमी आइ आफ्नो व्यवसायबाट पलायन हुन लागेको स्वदेशी व्यवसायको संरक्षण र प्रवद्र्धन गर्नका लागि खुला सीमा नाकाका कारण अवैधानिक रुपमा हुने चारी पैठारी नियन्त्रण गर्न राज्य गम्भिर हुनुपर्ने हाम्रो माग छ ।’

    स्थापनाकालदेखि नै रुपन्देही तथा भैरहवा क्षेत्रको स्थानीय बजार तथा उद्योग व्यापार प्रवद्र्धनको लागि उपभोक्ताहरुले सीमा पारीबाट खरिद गरेर ल्याउने प्रवृत्ति रोकी स्वदेशी बजारमा नै माल सामान खरिद गर्ने व्यवहारलाई प्रोत्साहनका लागि सचेतनाका कार्यहरु गर्दै आइरहेको उनको भनाइ छ । उनले भने, ‘राज्य पक्षसँग खुला सीमाबाट हुने अवैध कारोबारहरु रोक्नुपर्ने र सोका लागि सीमा नाकामा कडाइ गरी व्यवसायीहरुलाई संरक्षण गर्नुपर्छ हाम्रो निरन्तरको पहललाई साथर्कता प्रदान गर्ने गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट नेपाली उपभोक्ताहरु र व्यवसायीहरुलाई सीमा पारी बजारमा खरिद गर्न जाने प्रवृत्तिलाई निरुत्साहित तथा चेतनामूलक कार्य सञ्चालन गरी स्थानीय बजार प्रवद्र्धनमा खेलेका भूमिका हामी सबै दुवै व्यवसायिक संस्था स्वागतसहित धन्यवाद व्यक्त गदछौं । ’ भन्सार छलेर आउने अवैध सामान यहाँका उद्योगी व्यवसायीले पनि खरिद गर्नुहुँदैन भनेर सचेत गराउँदै आएको उनको भनाइ थियो । 

    उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले यहाँका व्यवसायीलाई धरासायी बनाउने कि संरक्षण गरेर स्थानीय बजारलाई प्रवद्र्धन गर्ने भन्ने मुख्य प्रश्न रहेको बताए । उनले कुनै पनि देशबाट भन्सार नतिरी ल्याइने सामान अवैध हुने बताए । अध्यक्ष ज्ञवालीले भने, ‘अवैध रुपमा सामान भित्रिएको कारणले यहाँको बजार प्रवद्र्धन हुन सकेको छैन त्यसैले सीमा नाकामा कडाइ गर्नुपर्छ ।’ उपभोक्ता सचेत हुनुपर्ने उनको भनाइ थियो । भारतीय बजारमा पुगेर सामान खरिद गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्न उनले बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले व्यवसाय फस्टाउन नसकेको र स्थानीय बजार प्रवद्र्धन हुन नसकेको कुरा धेरै वर्षदेखि उठ्दै आएको बताए । उनले भने, ‘अहिले बजार प्रवद्र्धनका लागि प्रशासनबाट देखिने गरी प्रयास भएको छ । ’ फरेनी बजार लगायत अन्य सबै नाका व्यवस्थित हुनुपर्ने उनले माग गरे ।

    संघका उपाध्यक्ष नेत्र प्रसाद आचार्यले भने, ‘फरेनी बजार बन्द हुनुपर्छ भनेका छैनौं तर उपभोक्तालाई सचेत गराउने प्रयास गरेका छौं । ’ फरेनी बजारको नाममा अवैध रुपमा सामान भित्रिएकाले उपभोक्ता सचेत हुनुपर्ने उनले बताए । उनले वैध ढंगले सामान भित्र्याउनुपर्ने बताए । उनले भने, ‘उपभोक्ताको विरोध गरेका छैनौं, तस्कारीको विरोध गरेका हौं ।’

    उद्योग व्यापार संगठनका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले विगतदेखि नै आफूहरुले सीमा क्षेत्रमा कडाइ गर्नुपर्छ भन्ने माग गरेको बताए । उनले अहिले स्थानीय प्रशासनले केही सुरुवात गरेकोले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । 

    सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव विजय पाण्डे, सदस्यहरु यमकला न्यौपाने, गोपाल भण्डारी, गौरव श्रेष्ठ लगायतले बोल्दै स्वदेशी बजार प्रबद्र्धनमा सम्पूर्ण क्षेत्रले भूमिका खेल्नुपर्ने बताए । 

    व्यवसायीकाअनुसार अहिले रुपन्देहीको विभिन्न नाकाबाट अवैध रुपमा कपडा, दैनिक उपभोग्य सामान, मोटर पार्टस्, मोबाइल, इलेक्ट्रोनिक पार्ट्सहरु चोरी तस्करी हुने गरेको छ ।