२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लायन्स सिद्धार्थनगर सेन्टिनियल : क्लब अध्यक्षको कार्यक्रम संयोजकहरुसँग भेटघाट

सोमवार , भाद्र ६, २०७९

भैरहवा, ६ भदौ ।
लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियल वर्ष २०२२/२३ का अध्यक्ष गजेन्द्र कोहारले क्लबअन्तर्गत विभिन्न कार्यक्रमका संयोजकहरुसँग भेटघाट तथा छलफल गरेका छन् । शनिबार भैरहवामा आयोजित क्लबको बैठकमा अध्यक्ष कोहारले कार्यक्रमका संयोजकहरुसँग छलफल गरेका हुन् । वर्षभरी गरिने सम्पूर्ण कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले कार्यक्रम संयोजकहरुसँग छलफल गरिएको कोहारले बताए । उनले भने, ‘क्यान्सर, मधुमेहविरुद्ध सचेतना, रक्तदान, विद्यालयको मुख्य गेट निर्माण लगायतका महत्वपूर्ण कार्यक्रम गर्ने वार्षिक कार्ययोजनाअनुसार उक्त कार्यक्रम कसरी सफल बनाउन सकिन्छ भन्ने उद्देश्यले संयोजकहरुसँग छलफल गरिएको हो, क्लबको अध्यक्षले मात्रै कार्यक्रम सफल हुँदैन, सम्पूर्ण सदस्यहरुको महत्वपूर्ण भूमिका आवश्यक छ । ’ क्लबको उद्देश्य परिपूर्तिमा सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

बैठकमा विभिन्न संयोजकहरुले आफूले जिम्मेवारी पाएको कार्यक्रमबारे जानकारी गराउनुभएको क्लबकी कोषाध्यक्ष सुस्मिता ढुंगानाले बताइन् । 

बैठकमा बोल्दै लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका गाईडलाइन समेत रहेका लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी)का ट्रेजरर विनोद खरेलले क्लबले करिब २५ लाखको आम्दानी गरेर २५ लाख बराबरको लागतमा विभिन्न कार्यक्रम गर्ने योजना बनाएको बताए । उनले क्लब एउटा परिवार भएकाले सम्पूर्ण कार्यक्रममा परिवारका सदस्यको उत्साहजनक सहभागिता आवश्यक रहेको बताए ।

क्लबका वर्ष २०२२/२३ का अध्यक्ष गजेन्द्र कोहारको अध्यक्षता, प्रथम उपाध्यक्ष भोजराज बस्यालको स्वागत, कार्यक्रम संयोजक सुरज भण्डारीको ध्वजा अभिवादन तथा सचिव गणेश प्रसाद खनालको सञ्चालनमा सम्पन्न बैठकमा संस्थापक अध्यक्ष ओम जैसी, निवर्तमान अध्यक्ष महेश नेपाल, पूर्व अध्यक्ष राजेन्द्र थापा, दीपक कौशल लगायतले बोलेका थिए ।