
आइतवार , भाद्र ५, २०७९
भैरहवा, ५ भदौ ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ का मृगौला बिरामी हरिबहादुर रायमाझीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच रायमाझीको आफन्तलाई ५७ हजार रुपैयाँ हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका सह–सचिव हेमन्तराज जोशीले बताए ।
क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ता, वर्ष २०२२⁄२०२३ का अध्यक्ष श्री रायमाझी र कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले संयुक्त रुपमा उक्त रकम बिरामीका आफन्तलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक गभर्नर न्यौपानेले लायन्स भैरहवा ग्रीन सिटीले गरेका कामहरुको डिष्ट्रिकमा पनि उच्च मुल्यांकन गरिएको बताए । विशिष्ट अतिथि लायन्स क्लबका डिष्ट्रिक अफिसर नेत्र प्रसाद आचार्यले उनले लायन्सको गाईडलाइन अनुसार क्लबहरुले कार्यक्रमहरु गर्नुपर्ने बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष सुनिल सेन्चुरीले ‘सेवा नै धर्म हो’ भन्ने मुख्य उद्धेश्यका साथ आफूहरु नेपाली समाजको विकासमा सदैव लागिरहेको जनाए ।
क्लबले बातावरण, युवा, विपन्न परिवार र स्वास्थ्य क्षेत्रमा निरन्तर काम गरिरहेको क्लबका प्रथम उपाध्यक्ष मनोज क्षेत्रीले जानकारी दिए ।
क्लबका अध्यक्ष श्री रायमाझीको अध्यक्षता, सह–सचिव हेमन्तराज जोशीको स्वागत तथा सचिव बिना पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij