शनिवार , भाद्र ४, २०७९
बुटवल। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको राजमार्ग चौराहा–गोलपार्क सडक खण्ड निर्माणबारे सडक विभागका उपमहानिर्देशक दीपक श्रेष्ठसँग छलफल गरेका छन्।
सडक निर्माणमा निर्माण व्यवसायीले सडक निर्माणको काम गर्दा चासो नदिएको र सडक अलपत्र पार्नेलाई कारबाही गर्न तदारुकता नदेखाएको भन्दै प्रमुख पाण्डेयले असन्तुष्टि व्यक्त गरे।
नगरप्रमुख पाण्डेयले बुटवलभित्रको सडक निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीको म्याद थप नगर्न आग्रह गरे। बुटवलबासीको आक्रोश बढ्दै गएको भन्दै उनले बुटवलको सडक निर्माणमा आयोजना र सडक विभागबाट समेत गम्भीर चासोका साथ काम अघि बढाउन आग्रह गरे।
उनले सडक निर्माणमा निर्माण व्यवसायीबाट काम हुँदा नहुँदा ताकेता र चासो व्यक्त गर्ने र कामलाई तीब्रता दिलाउने, अनुगमन गर्ने काममा थप चासो दिन आग्रह गरे।
नगरप्रमुख पाण्डेयले निर्माण कम्पनीलाई छिटो भन्दा छिटो काम सक्नका लागि ताकेता गर्न आग्रह गरे।
सडक विभागका उपमहानिर्देशक दीपक श्रेष्ठले विभागले निर्माण कम्पनीले समयसीमाभित्र काम नसके कानुनी प्रक्रिया अघि बढाउने बताए। उनले निर्माण कम्पनीलाई समयसीमाभित्र काम पूरा नगरेकोमा कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिसकिएको बताए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुखु प्रशासकीय अधिकृत टेकराज पन्थीले सडक निर्माणमा भएको लापरबाहीका कारण दुर्घटना बढेको र बुटवलबासीले सास्ती खेप्नुपरेको बताए। उनले सडक निर्माणमा बुटवल उपमहानगरपालिकाले जुनसुकै समन्वय र सहकार्य गर्न तयार रहेको बताए।
कार्यक्रममा निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभीका सञ्चालक सुवित श्रेष्ठले भदौंभित्र सडकको मुख्य समस्या समाधान गर्ने गरी काम अघि बढाएको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, सल्लाहकार दिनेश पाण्डे, पत्रकारहरु दामोदर खनाल, यमलाल भुसाल, शरण कर्माचार्य, भगवती पाण्डेलगायतले बोल्दै सडक निर्माणमा आयोजना र सडक विभागबाट समेत गम्भीरतापूर्वक चासो नदेखाएको बताएका छन्।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij