
बुधवार , भाद्र १, २०७९
भैरहवा, १ भदौ ।
प्रतिमान नीमा स्मृति प्रतिष्ठानले रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका स्वास्थ्यकर्मीहरुलाई फ्रन्टलाईन कामदारको लागि उपचार, शिक्षा, लचिलोपन र अवसरमा मानसिक स्वास्थ्य प्रशिक्षण दिएको छ ।
जिल्लाका ४ वटा पालिकाका स्वास्थयकर्मीलाई तालिम दिने गरी सुरु गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा रोहिणी गाँउपालिकाका ७० जना स्वास्थ्यकर्मीलाई तालिम दिन लागिएको फाउण्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । रोहिणीमा बुधबार ३७ जना र बिहीबार ३५ जना गरी ७० जनालाई तालिम दिन लागिएको उनले जानकारी दिइन् ।
४ वटा पालिकाका २८० जनालाई दिएपछि तालिम लिएका स्वास्थ्यकर्मीले थप १ हजार ४ सय जनालाई तालिम दिने उनको भनाइ छ ।
रोहिणीपछि ओमसतिया गाउँपालिका, देवदह र तिलोत्तमा नगरपालिकाका स्वास्थ्यकर्मीलाई पनि तालिम दिइने प्रतिष्ठान निर्देशक धर्म बहादुर के.सी.ले बताए । प्रोजेक्ट होप र न्युवर्क अस्पतालको सहकार्यमा तालिम सञ्चालन गरिएको निर्देशक केसीले जानकारी दिए ।
तालिममा यती हेल्थ साईन्स एकेडेमीकी एसोसिएट प्रोफेसर एलिसा रिजालले प्रशिक्षण दिएकी छन् । उनले कोभिड–१९ पछि मानिसमा परेको शारीरिक, मानसिक असरका बारेमा तथा त्यसबाट कसरी मुक्त गराउने भन्ने विषयमा प्रशिक्षण दिने बताइन् ।
प्रतिमानले यस अघि ७ वटै प्रदेशमा १० हजार बढीलाई तालिम प्रदान गरेको थियो भने ८ करोड बढीको स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।
कार्यक्रममा रोहिणी गाँउपालिकाका अध्यक्ष विद्या प्र्रसाद यादव, उपाध्यक्ष शिवकान्ति हरिजन, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेल लगायतले बोल्दै प्रतिमान नीमा स्मृति प्रतिष्ठानले स्वास्थ्यको क्षेत्रमा थुप्रै उदाहरणीय काम गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij