२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

३३ औं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा अन्तरक्रिया

सोमवार , मंसिर १५, २०७७

बुटवल, १५ मंसिर ।
३३ औं विश्व एड्स दिवस २०२० को पूर्वसन्ध्यामा सोमबार बुटवलमा पत्रकार अन्तरक्रिया गरिएको छ । स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश स्वास्थ्य कार्यालयको आयोजनामा गरिएको अन्तरक्रियामा बोल्दै स्वास्थ्य निर्देशनालयका प्रमुख डा. राजेन्द्र कुमार गिरीले यो वर्ष विविध सचेतनाका कार्यक्रम गरी दिवस मनाउन लागेको बताए । कोभिड–१९ का कारण एड्सका कार्यक्रम ओझेलमा परेको भन्दै उनले ट्युबर क्लसिस (टिबि)र गर्भवती महिलालाई अनिवार्य परिक्षण जरुरी रहेको बताए । समुदायस्तरमा परीक्षण, गर्भवती महिलालाई परीक्षणसंगै संक्रमण पत्ता लागेपछि आवश्यक सहयोग लगायतमा सरकार तथा सरोकारवाला संघस्थाहरुको सहकार्य रहेको उनको दाबी छ । राष्ट्रिय एचआईभी रणनीतिक योजना २०१६–२०२१ ले निर्देश गरे अनुसार काम हुँदै आएको छ । 

स्वास्थ्य कार्यालयका नेत्रलाल अर्यालले तथ्यांक व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको भन्दै तालिम र परीक्षण बढाउने काम समेत आवश्यक रहेको उनले बताए । समुदायमा तालिम, रिपोर्टिङ, संघ–संस्थाहरुबीच सहकार्यसंगै पछिल्लो समयमा रोकथाम भन्दा उपचारमा जोड दिएको समेत उनले बताए । पछिल्लो समय उपचारमा आउने संख्या बढेको भन्दै टेष्ट किटको समस्या सधै देखिने गरेको दुःखेसो गरे । भिम र लुम्बिनी प्रादेशिक अस्पतालबाट १ हजार ३ सय २२ जनाले एआरटी सेवा लिइरहेका छन । प्रदेशमा यो वर्ष १३ हजार ९ सय ६० जना सुत्केरीमा गरिएको परीक्षणमध्ये १३ जना संक्रमित भेटिएको छ । सन् २०२० मा २२ हजार ९ सय ३४ पुरुष, १४ हजार ३ सय महिला र ३ सय ६२ जना तेस्रोलिंगीसहित ३७ हजार ५ सय ९६ जना संक्रमित रहेको तथ्यांकले देखाउँछ ।