
मंगलवार , श्रावण ३१, २०७९
भैरहवा, ३१ साउन ।
भैरहवा नमुना माध्यमिक विद्यालय सिद्धार्थनगर–५ रुपन्देहीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । विद्यालयमा शिक्षा, विज्ञान, मानविकी र व्यवस्थापन संकायमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको प्राचार्य चुन्न प्रसाद पाण्डेले बताए ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले उच्च शिक्षा हासिल गर्ने सपना बोकेर विद्यालयमा आएका विद्यार्थीहरु अनुशासित भएर पढ्नुपर्ने बताए । उनले विद्यार्थीहरुलाई पढाइमा ध्यान दिन आग्रह गरे । भैरहवा नमूना माविमा पढेका विद्यार्थीहरु विभिन्न महत्वपूर्ण क्षेत्रमा पुगेको उनले बताए । उनले विद्यार्थीहरुलाई कुनै समस्या भए जानकारी गराउन आग्रह गरे ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य पुरन प्रसाद श्रेष्ठले विद्यार्थीका लागि अनुशासन गहना भएको बताए । उनले यसअघि पनि भैरहवा नमुना माविको व्यवस्थापन समितिको सदस्यमा रहेर विद्यालयको विकासका लागि आफू निरन्तर लागिपरेको बताए । उनले भने, ‘विद्यार्थीहरुले कुनै कुरा नबुझे निर्धक्कसँग प्राध्यापक तथा शिक्षकशिक्षिकासँग सोध्नुहोस्, विद्यालयमा दक्ष तथा अनुभवी शिक्षकशिक्षिका हुनुहुन्छ । ’
विद्यालयका सहायक प्रधानाध्यापक जगत बहादुर रायमाझीले विभिन्न विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीको भैरहवा नमूना मावि राम्रो रोजाइ भएको बताए । प्राध्यापक मणिराज घिमिरेले विद्यालयमा आएपछि पढ्नुपर्ने बताए । उनले भने, ‘नबुझेको कुरा सोध्नुपर्छ ।’
विद्यालयका प्लस टु कार्यक्रम संयोजक ओमप्रकाश विश्वकर्माले विद्यार्थीहरुलाई विद्यालयमा समयमै आउन आग्रह गरे । भौतिकशास्त्रका प्राध्यापक शालिकराम भण्डारीले भैरहवा नमुना माविमा पढेका विद्यार्थीहरु महत्वपूर्ण क्षेत्रमा पुगेको बताए ।
विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डेको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताको प्रमुख आतिथ्यता, सहायक प्रधानाध्यापक जगत बहादुर रायमाझीको स्वागत तथा प्राध्यापक रामेश्वर सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij