सोमवार , श्रावण ३०, २०७९
भैरहवा, ३० साउन ।
पन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा जीर्ण अवस्थामा रहेको नहरको लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुले अवलोकन गरेका छन् । सोमबार उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री विर बहादुर राना र शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अवलोकन गरेका हुन् ।
कोटहीमाई गाउँपालिका वडा नम्बर ४ तुनिहवादेखि अमवासम्मको भारतीय क्यानेल पुनः सञ्चालनमा ल्याउन उद्देश्यले नहरको अवस्थाबारे अवलोकन गरिएको सिँचाईमन्त्री रानाले बताए । धेरै वर्ष पहिला सियारीबाट मर्चवार क्षेत्रमा सिँचाईको लागि बनाइएको भारतीय क्यानलमा करिब २० वर्षदेखि पानी नआएको स्थानीयले बताएका छन् । अनुगमन गर्दै मन्त्री रानाले मर्चवार अन्न भण्डार रहेको र यहाँ सिँचाईको अभावले कृषि क्षेत्र धेरै प्रभावित भएको बताए । उनले भने, ‘नहर छ तर पानी छैन, यसलाई तत्काल मर्मतसम्भार गरी पानी ल्याउनेछु ।’ ‘अहिले मौसम प्रतिकूल छ, मनसुनमा पनि वर्षा भएन । सिंचाईको अभावमा खेतहरु सुकेका छन् । रानाले भने, ‘यही अवस्थालाई हेर्दै भविष्यमा यसमा अझै सुधार गर्न सकिन्छ, कृषिमा सिंचाईको अझै बढी पहुँच कसरी पुर्याउन सकिन्छ भनेर निकास निकाल्नु पनि यो अवलोकनको उद्देश्य हो ।’ यस्तै मर्चवार लिफ्ट सिँचाई आयोजनाबाट सिँचाईको लागि छोडिएको लोअर क्यानल सेमरा र बनगाईको नहर पनि मन्त्रीद्वयले अवलोकन गरेका छन् ।
मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाका अध्यक्ष नजिर मुसलमानले नहरलाई पक्की बनाउन सके यसबाट हुने चुहावट नियन्त्रण गरी तल सम्मै पानी पुर्याउन सकिने बताए । यसको साथै भारत सरकारको सहयोगमा निर्माण भएको बयरघाटको नहरमा पानी पुर्याउन सके मर्चवारको करिब १० हजार हेक्टरलाई सिंचित गर्न सक्ने उनले बताए । मर्चवारमा सिंचाइ प्रणालीमा सुधार ल्याउन आवश्यक रहेको बताउँदै उनले यसको लागि आफुले सक्दो प्रयास गरिरहेको जनाए ।
संस्थाका सचिव जगरनाथ प्रसाद कुर्मीले सुरुमा ५ हजार ९ सय हेक्टर भूमि सिंचाई गर्ने उद्देश्यले सुरु भएको यो प्रणालीबाट अहिले १ हजार ५ सय हेक्टर पनि सिंचित हुन नसकेको बताए । ठाउँठाउँमा पानीको चुहावट, वर्षौ पुरानो संरचना भएको कारण भत्केको स्थानमा मर्मत हुन नसक्नु लगायतको कारण अपेक्षित प्रगति हुन नसकेको कुर्मीले बताए ।
जल तथा सिंचाई डिभिजन कार्यालय, मन्त्रालयका सचिव, मर्चवार लिफ्ट सिंचाईका पदाधिकारी लगायतको संयुक्त टोलीले सिंचाई गर्ने नहर, पम्प एवं सम्पूर्ण प्रक्रियाको अवलोकन गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij