२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बुटवल उपमहानगरपालिकको न्यायिक समितिमा ६ वटा विवाद निरुपण 

आइतवार , श्रावण २९, २०७९

बुटवल, २९ साउन । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको न्यायिक समितिले ६ वटा विवाद निरुपण गरेको छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि दर्ता भएका २० वटा विवादमध्ये ६ वटा विवाद निरुपण गरेको हो ।  

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक सावित्रादेवी अर्यालले २० वटा विवाद दर्ता भएकोमा ६ वटा विवाद निरुपण गरेको र १४ वटा प्रक्रियामा रहेको बताइन् ।

न्यायिक समिति संयोजक अर्यालका अनुसार ७ वटा इजलास र २ वटा न्यायिक समितिको बैठक बसेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (१) अन्तरगत अघिल्लो आर्थिक वर्षबाट २ वटा मुद्दा जिम्मेवारी सरेर आएका छन् ।

चालु आर्थिक वर्षमा ३ वटा मुद्दा दर्ता भएका छन् भने एउटा मुद्दाको फैसला भएको र ४ वटा मुद्दा चालु अवस्थामा रहेको संयोजक अर्यालले जानकारी दिइन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (२) अन्तरगत अघिल्लो आर्थिक वर्षबाट ९ वटा मुद्दा जिम्मेवारी सरेर आएका छन् । न्यायिक समितिमा सबैभन्दा बढी जग्गा, सार्वजनिक बाटोसम्बन्धी विवाद न्यायिक समितिमा आएका छन् ।

यस्तै श्रीमान् श्रीमतीबीचको विवादलाई श्रीमतीलाई खानलाउन र बालबच्चालाई शिक्षादिक्षाको व्यवस्था मिलाउने गरी मेलमिलाप गराएको न्यायिक समिति संयोजक अर्यालले जानकारी दिइन् । संविधानको धारा २१७ अनुसार बनेको न्यायिक समितिले विभिन्न ११ विषयमा मिलापत्र गर्न सक्छ भने मेलमिलापको नीतिले नछुने विषयमा भने सुनुवाई कक्षले निर्णय गर्न सक्ने व्यवस्था छ ।