आइतवार , श्रावण २९, २०७९
बुटवल, २९ साउन ।
ग्रील तथा स्टील ग्रील तथा स्टील व्यवसायीहरुले हरेक पालिकामा व्यवस्थित ग्रील ग्राम स्थापना गर्न सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन् । छरिएर व्यवसाय गर्दा अव्यवस्थित, अस्वस्थ प्रतिस्पर्धा र दर्ता विना चलेका व्यवसायबाट राज्यको कर छली भएकाले ग्रील ग्राम आवश्यक भएको व्यवसायीको माग छ ।
ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ग्रील ग्रामसम्बन्धी अन्तरक्रियामा व्यवसायीहरुले रुपन्देहीका संघीय सांसद र स्थानीय तहका प्रमुख समक्ष ग्रील ग्रामको माग गरेका हुन् ।
स्थानीय तहमा रहेका खाली वा उपयोगविहीन जग्गाको सदुपयोग गरी ग्रील ग्राम स्थापना गर्न सके वातावरणीय र शहरी सौन्दर्यका हिसाबले नमूना हुनुका साथै मूल्यमा एकरुपता भइ उपभोक्ता समेत लाभान्वित हुने व्यवसायीको भनाई छ । ग्रील ग्राम नहुँदा विना दर्ता सञ्चालित झोले व्यवसायीका कारण राज्यलाई कर तिर्ने व्यवसायीहरु संकटमा परेको र राजयको ठूलो मात्रामा कर गुमेको व्यवसायीको गुनासो छ ।
व्यवसायीहरुले वर्षौंदेखि ग्रील ग्रामको माग गरेपनि सुनुवाई नभएको गील तथा स्टील व्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष अशोक वर्माले गुनासो गरे ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवसायीहरुका माग जायज भएको भन्दै सबै माग सम्बोधन गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनले राष्ट्र निर्माणमा ग्रील तथा स्टिल व्यवसायीको योगदान महत्वपूर्ण रहेको भन्दै व्यवसायीका माग पूरा गर्न आफूले पहल गर्ने बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसायीका माग उचित रहेका भन्दै छलफल गरेर माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।
रुपन्देहीमा ४ सय ८५ ग्रील उद्योग सञ्चालनमा रहेका र ५ हजार बढीले रोजगारी पाएका तथा वार्षिक २ अर्ब ४० करोडको कारोबार हुने गरेको संघका अध्यक्ष मोहन भट्टराईले जानकारी दिए । देशभर ११ हजार उद्योगमा एक लाख ६० हजारले रोजगारी पाएका र वार्षिक ६५ अर्बको कारोबार हुने गरेको ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले जानकारी दिए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तुलजी सारु,द्वितीय उपाध्यक्ष दिलबहादुर सुनार, सल्लाहकार लेखनाथ पौडेल लगायतले व्यवसायीका हकअधिकारका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउने तीनजना छात्रछात्रालाई पुरस्कृत गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij