
सोमवार , मंसिर १५, २०७७
काठमाडौं, १५ मंसिर । स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ आज ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ स्थानीय तहमा ५ देखि १५ शैयासम्मको अस्पताल बनाउनका लागि आज एकैसाथ निर्माणको थालनी गर्ने भएको हो ।
आज प्रदेश नं १ मा ३२ स्थानीय तहमा, प्रदेश नं २ मा २० स्थानीय तह, वाग्मती प्रदेशमा १९ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ६० स्थानीय तह, कर्णाली प्रदेशमा २८ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ३४ स्थानीय तहमा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिने छ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३ सय ९६ स्थानीय तहलाई पाँचदेखि १५ शैयाको अस्पताल बनाउनका लागि रु ६४ अर्ब नौ करोड बजेट पठाइसकिएको छ । पाँच शैयाको अस्पतालका लागि रु ७० लाख, १० शैयाका लागि रु ८५ लाख र १५ शैयाका लागि एक करोड बजेट पठाइसकिएको अर्थ मन्त्रालयले जनाएको छ ।
सबै जनतालाई आधारभुत स्वास्थ्य सेवा पुराउने लक्षका साथ सरकारले सबै स्थानिय तहमा अस्पताल बनाउने कार्यक्रमका मुख्य योजनाकार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यस्तै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले इलामका तीन स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए । भट्टराइृका अनुसार नेता खनालले सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पतालको शिलान्यास गर्ने छन् ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम छ । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरि आर्थिक श्रोतको समेत ब्यबस्थापन गरिसकेको स्वास्थ्य मन्त्री ढकालले बताएका छन् । मन्त्री ढकालले सोमबार सातवटै प्रदेशमा ५० शैयाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने बताए । सरुवा रोगका बिरामीलाई सबै प्रदेशमा सेवा पु¥याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो ।
हाल नेपालमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । स्थानीय तहमा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र स्थानीय तहका प्रमुखले पनि शिलान्यास गर्ने छन् । यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिईसकेको छ । मन्त्रालयका अनुसार कुल ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३ सय ९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न थालिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij