२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

ठूलाखर्क सेवा समाजको तीज मिलनमा रमाए महिलाहरु

शनिवार , श्रावण २८, २०७९

बुटवल, २८ साउन ।
ठूलाखर्क सेवा समाज बुटवल रुपन्देहीले शनिबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । समाजले स्थापनाको पहिलो वर्षमै दिदीबहिनी तथा चेलीबेटीहरुलाई जम्मा गरेर तीजमिलन कार्यक्रम सम्पन्न गरेको हो । 

बुटवलको मिलनचोक तीनकुनेस्थित सिमरन पार्टी प्यालेसमा आयोजित कार्यक्रममा अर्घाखाँचीको छत्रदेव गाउँपालिका अन्तर्गत ठूलाखर्कबाट रुपन्देही, नवलपरासी, कपिलवस्तु आइ बसोबास गर्नेहरु सहभागी थिए । आफ्नो मौलिक कला र संस्कृति जगेर्नाको लागि तीज मिलन कार्यक्रम गरिएको समाजका अध्यक्ष टामलाल ज्ञवालीले जानकारी दिए । तीजगीत कार्यक्रमसँगै दर खुवाउने कार्यक्रम समेत गरिएको थियो । 

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ अन्तर्गत ठूलाखर्क स्थायी घर भई रुपन्देही, नवलपरासी र कपिलवस्तुमा बसोबास गरिरहेकाहरुले ठूलाखर्क सेवा समाज गठन गरेका हुन् । समाज गठन भएसँगै विभिन्न गतिविधि सुरु गरिएको समाजका उपाध्यक्ष घनश्याम ज्ञवालीले बताए । संस्कृतिको रक्षा गर्ने र आपसी भाइचारा एवं भातृत्वको विकास गर्ने उद्देश्यले तीज मिलन कार्यक्रम गरिएको समाजका सचिव किशोर ज्ञवालीले बताए । 

कार्यक्रममा सहभागी महिलाहरुले दिनभर नाचगान गरी रमाइलो गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमले आपसी भेटघाटका साथै सम्बन्ध सुमधुर बनाउने भन्दै आगामी वर्ष पनि निरन्तरता दिन माग गरेका छन् ।