२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

व्यक्तिको नाममा रहेको सरकारी जग्गा फिर्ता गराउन वडा कार्यालयको पहल

शुक्रवार , श्रावण २७, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • बुटवल, २७ साउन । 
    रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ मा रहेको २२ कठ्ठा जग्गा सरकारी नाममै फिर्ताका लागि वडा कार्यालयले पहल थालेको छ ।  २०६५ सालमा सरकारीबाट व्यक्तिकोे नाममा गएको देखिने वडा नम्बर १७ रानीगञ्जमा रहेको २२ कठ्ठा जग्गा सरकारकै नाममा फिर्ताका लागि वडाअध्यक्ष ज्ञानप्रसाद रेश्मीले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालयमा पत्र लेखेका छन् । 

    ‘नेपाल सरकारको नाममा रहेको जग्गालाई भूमाफियाको मिलेमतोमा होमबहादुर पुनको नाममा मिति २०६५/१२/१० गते जग्गाधनी लालपूर्जा निकालिएको भेटिएकाले र सम्पूर्ण अभिलेखहरु किर्ते प्रमाणित गरी आवश्यक प्रमाणसहित उक्त जग्गाधनी प्रमाणपत्र रद्द गरी पुनः नेपाल सरकारकै नाममा राख्नका लागि आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ’–रेश्मीले लेखेको पत्रमा उल्लेख छ–उक्त जग्गा किर्ते काममा संलग्न दोषी व्यक्तिहरुलाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइदिनुहुन अनुरोध छ ।’ 

    नापी कार्यालयमा २०२७ सालदेखि पर्ती देखिने सो जग्गा मिलेमतोमा किर्ते गरी कित्ता नम्बर थपेर २०६५ चैत १० मा व्यक्तिको नाममा गराइएको र त्यसयता लगातार तिरो तिर्दै आएको पाइएको वडाध्यक्ष रेश्मीले बताए । उनले सो जग्गाको चौकिल्ला प्रमाणित र तिरो तिरेका सबै कार्यलाई वडा कार्यालयले खारेज गरी सरकारकै नाममा ल्याउन सबै प्रक्रिया अघि बढाएको बताए ।

    मिलेमतोमा कीर्ते गरी व्यक्तिको नाममा बनाइएको यो जग्गा नापीको रेकर्डमा सरकारी देखिए पनि मालपोत कार्यालयमा भने व्यक्तिको नाममा ४२ नं कित्ता बनाएर पास गरिएको छ । मालपोतको ढड्डामा कित्ता नं लेखिएको स्थानमा मेटेरे थपिएको देखिन्छ । 
    उपमहानगरपालिकाले नगरस्तरीय अस्पताल निर्माण गर्नका लागि जग्गा खोजी गर्ने क्रममा सो जग्गा व्यक्तिको नाममा देखिएको थियो । बुटवल उपमहानगरभित्रका कुनै पनि सरकारी जग्गा संरक्षणको दायित्व नगरको भएकाले जग्गा सरकारी नाममै फिर्ता ल्याउने बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए । उनले उपमहानगरपालिकाले भूमाफियाबाट भएका सबै किर्ते कार्य रद्द गरी लालपूर्जा खारेज गरेर जग्गा सरकारी नाममै ल्याउने बताए ।