
शुक्रवार , श्रावण २७, २०७९
भैरहवा, २७ साउन ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (यूसीएमएस)मा छुट्टै ‘विशिष्ट विशेषज्ञ बहिरंग (ओपिडी) सेवा’ सुरु भएको छ । यसअन्तर्गत बिरामीले सहज र सुलभ दरमा मृगौला रोग, मुत्र रोग, न्यूरो शल्यचिकित्सा, मुटु, फोक्सो तथा रक्तनली शल्यक्रियासम्बन्धी सेवाहरु प्राप्त गर्ने युसीएमएसका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए । यी सेवाहरु बिरामीहरुले विशेषज्ञहरुबाट उपचार प्राप्त गर्ने उनले बताए । बिरामीले डा. सन्तोष शाह, डा. राजकुमार के.सी., डा. कृष्ण कुमार अग्रवाल र डा. सगुन बहादुर थापाबाट स्वास्थ्य उपचार तथा परामर्श सेवा पाउने उनले जानकारी दिए ।
‘एउटै छानामुनी एउटै क्षेत्रबाट पूर्ण रुपमा शान्त वातानुकूलित वातावरणमा प्राप्त गर्न सकिनेछ, बिरामीहरुका लागि एकैठाउँमा नै उपचार तथा परामर्शको व्यवस्था, रगत तथा पिसाब संकलन केन्द्र, बिरामी कुरुवा क्षेत्र, औषधी खरिदको व्यवस्था गरिएको छ भने बिरामी तथा कुरुवाहरुलाई समयको व्यवस्थापन गर्न निःशुल्क वाइफाइ तथा टेलिभिजनको समेत व्यवस्था गरिएको छ, ’उनले भने । हाललाई यो ओपिडीको सेवा प्राप्त गर्न टिकट दर रु. ३०० लागू गरिएको उनले जानकारी दिए ।
अस्पतालमा विगत लामो समयदेखि मुटुसम्बन्धी सम्पूर्ण उपचारको लागि क्याथ ल्याब, जोर्नी फेर्नुपर्ने तथा हिप फेर्नुपर्ने सेवाहरुका साथै दूरविन प्रविधिबाट शल्यक्रिया, सुविधासम्पन्न मुटु रोग विभाग (उक्त रक्तचाप, हृदयघात, पक्षघात तथा मुटु रोगसम्बन्धी सम्पूर्ण सेवाहरु ई.सी.जी, इको, हल्टर, टी.एम.टी., को व्यवस्था, दाँत तथा मुखसम्बन्धी सम्पूर्ण सेवाहरु, रेडियोलोजी विभाग (डिजिटल एक्स–रे), अल्ट्रासाउण्ड, सि.टि. स्क्यान, एम.आर.आई. सेपा, मेमोग्राफी, फ्लोरोस्कपी, अत्याधुनिक आई.सी.यू, एन.आई.सी.यू, पी.आई.सी.यू., सी.सी.यू. तथा एम.आई.सी.यू., नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम, निःशुल्क डायलासिस सेवा, सामाजिक सुरक्षा कार्यक्रम तथा स्वास्थ्य बीमा कार्यक्रमको व्यवस्था निरन्तर चालु रहेको उनले बताए ।
युसीएमएसका प्रमुख प्रशासकीय अधिकृत कमलराज ढकालले विगत लामो समयदेखि प्रदान गरिदै आएको ओपिडी सेवालाई विशिष्टीकृत रुपमा सेवा प्रदान गर्ने गरी छुट्टै ब्लकमा यो सेवा सुचारु गरिएको बताए । उनले विशेषज्ञ सेवा बिरामीहरुलाई सहज रुपमा सेवा प्राप्त होस् भन्ने उद्देश्यले विशेषज्ञ ओपिडी सेवा शुभारम्भ गरिएको बताए । उनले भने, ‘यसले बिरामीको समयको समेत सदुपयोग हुनेछ, विशेषज्ञ सेवा छिटो र सरल ढंगबाट प्राप्त गर्न सकिनेछ । ’ युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पीएसले अस्पतालबाट दैनिक ८ सय जना बिरामीले ओपिडी सेवा लिइरहेको उनले जानकारी दिए ।
विशेषज्ञ ओपिडी सेवाको बिहीबार एक कार्यक्रमकाबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रजिअ पाण्डेले विशेष गरी कम शुल्कमा विशेषज्ञ सेवालाई एकै ठाउँमा प्रदान गर्दा बिरामीलाई उपचार लिन सहज हुने बताए । उनले भने, ‘विशेषज्ञ सेवा लिनका निम्ति धेरै सहयोग पुर्याउन जुन प्रकारले अस्पतालले प्रयास गरेको छ, यो सेवाको पूर्ण सफलताको कामना गर्दछु । ’
युसीएमएसका निमित्त प्रिन्सिपल डा. हेमन्त हलुवाईले वि.सं. २०५४ सालमा स्थापना भएको युसीएमएस दक्ष जनशक्ति उत्पादनका साथै सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न कटिबद्ध रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij