२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु 

बिहिवार , श्रावण २६, २०७९

बुटवल, २६ साउन । 
बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु भएको छ ।  जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकाको सहभागितामा अभियान सुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको उनले बताए । 

बुटवलमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, सञ्चारमाध्यमहरुबाट चेतना कार्यक्रम सञ्चालन गर्ने काम उपमहानगरपालिकाले गरिरहेको उनले बताए ।
नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्षहरुको सल्लाहअनुसार लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । उनले खोज र नष्ट गर अभियान निरन्तर सञ्चालन हुने र थप सचेतना फैलाउने काम गरिने बताए ।

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वडा नम्बर १, ५ र ६ मा खोज र नष्ट गर अभियान सञ्चालन भइसकेको र सम्भावित अन्य क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको बताए । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइ गर्नुपर्ने उनको भनाइ छ । 

यसैबीच बुटवल उपमहानगरपालिकाले बुटवलका जनप्रतिनिधि, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरु, पत्रकार, कर्मचारीका बीचमा अभिमुखीकरण कार्यक्रम गरेको छ । 

बुटवल उपमहानगरपालिकाको आयोजना, फेयरमेड फाउण्डेशन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्र बुटवलको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले सहजीकरण गरेका थिए । 
कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले डेंगुको संक्रमण बढ्दै गएकाले सावधानी र सचेतना अपनाउन आग्रह गरे । उपप्रमुख सावित्रादेवी अर्यालले डेंगुबाट जोगिन सरसफाइका साथसाथै सावधानी अपनाउनुपर्ने बताइन् । कार्यक्रममा जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पत्रकार, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।