
बिहिवार , श्रावण २६, २०७९
बुटवल, २६ साउन ।
लोक संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले प्याब्सन रुपन्देहीले आयोजना गरेको प्रथम प्याब्सन अन्तरविद्यालय राष्ट्रिय नृत्य प्रतियोगिताको उपाधि कुँवरवर्ती इङलिस बोर्डिङ स्कूल तिलोत्तमाले हात पारेको छ । प्रतियोगितामा ज्ञानगंगा पाठशाला द्वितीय भएको छ । त्यस्तै तृतीय र सान्त्वना क्रमस लिटिल प्याराडाइज इङलिस बोर्डिङ स्कूल र ज्ञानपुञ्ज इङलिस बोर्डिङ भएका छन् ।
प्रथम हुने कुँवरवर्तीले १५ हजार नगद, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै द्वितीयले १२, तृतीय हुनेले १० र सान्त्वनाले ५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा रुपन्देही १५ विद्यालयको सहभागिता रहेको कार्यक्रम संयोजक एकनारायण आचार्यले जानकारी दिए ।
कार्यक्रममा उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले संस्थागत विद्यालयको विकास नगरपालिकाले कुनै कन्जुसाइँ नगर्ने बताए । नगरको शिक्षाको विकासमा आफू सधै छलफल गर्न तयार रहेको उनले बताए ।
प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार लोकनाथ उपाध्यायले राज्यबाट सामुदायिक र संस्थागत विद्यालयलाई विभेद गर्न नहुने बताए । प्याब्सन रुपन्देहीका वरिष्ठ सल्लाहकार यज्ञमूर्ति पाण्डेले राज्यले संस्थागत र सामुदायिक विद्यालयलाई काखा र पाखाको व्यवहार गर्न नहुने बताए ।
कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले शिक्षाको विकासमा संस्थागत विद्यालयको भूमिका अतुलनीय रहेको बताए । प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माको अध्यक्षता, उपाध्यक्ष उपाध्यक्ष कूलराज शर्माको स्वागत तथा सचिव दीपक खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij